बाँके ८ जेठ : नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गरिएको छ । उक्त बैंक शाखा कार्यालय कोहलपुरमा सन्चालनमा रहेपनि नेपालगन्जमा भने अझै खुल्न सकेको छैन ।
सहकारी बैंकको केन्द्रीय सदस्य बिजया धितालले बुधवार नेपालगन्जमा यहाँका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिसंग छलफल गरेकी छन् । छलफलका क्रममा सहकारी बैंकको आवश्यकता र चुनौतीका बिषयमा सरोकारवाला पक्षले आआफ्नो धारणा राखेका छन् । केन्द्रीय सदस्य धितालले यहाँको आवश्यकता हेरेर सहकारी बैंकको शाखा खोल्ने बताईन ।
के हो सहकारी बैंक ?
नेपालमा सहकारीको शुरुवात भएको ६ वर्षपछि अर्थात वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो । नेपाल सरकारको १ करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भयो । बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थाहरू बीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अर्को नियमनकारी निकायको मातहतमा सञ्चालन भएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।
उद्देश्य,
राष्ट्रिय सहकारी बैंक लिमिटेडको स्थापना हुनुको मुख्य उदेश्य सदस्य सहकारी संघ वा संस्थालाई थोक कर्जाको रुपमा वित्तीय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई त्यस्ता संघ÷संस्था मार्फत जनताको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग पुर्याउने हो । यसका साथै नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशन र ऐनको अधिनमा रही राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आवश्यक समन्वय कायम गरी सहकारी आन्दोलनलाई सहयोग पुर्याउने यसको अर्को महत्वपूर्ण उदेश्य हो । यस्तै पूँजि अभाव भएका सहकारी संघ÷संस्थाहरुलाई कर्जा स्वरुप पूँजि सहयोग गरी व्यवसायिक बनाउने र क्रमशः पूँजिमा आत्मनिर्भर गराउंदै लैजाने लगायतका उदेश्य लिएर यो बैंक स्थापना भएको हो ।