प्रदेश ५ को निर्वाचन क्षेत्र र स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने


बाँके १२ जेठ : कृषि तथा उद्योगक्षेत्रलाई प्राथमिकतामा राखेको प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६ र २०७७ मा एक निर्वाचनक्षेत्र एक औद्योगिक ग्राम स्थापना कार्यक्रम सन्चालन गर्ने भएको छ । जेठ ९ गते प्रदेश प्रमुखले संसदमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा उक्त विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।

प्रदेश ५ मा देशकै ठुला उद्योगहरु सन्चालनमा छन् भने धेरै उद्योगहरु थपिने क्रममा छन् । देशकै आर्थिक विकासमा टेवा पुर्याउने उद्योग सन्चालनको प्रचुर सम्भावना रहेको यस प्रदेशमा सम्भवत साना उद्योगलाई प्रोत्साहन गर्ने गरी एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना कार्यक्रम सन्चालन गर्न लागिएको हो । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा आगामी ३ वर्षभित्र प्रत्येक स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने नीति अघि सारेको छ । त्यसलाई कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो ।

प्रदेश सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि टेवापुग्ने उद्योग स्थापनाका लागि लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ । ठूला उद्योग स्थलसम्म पुग्ने सडक तथा अन्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखी निर्माण र स्तरोन्नति गर्ने र उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालय र प्राविधिक शिक्षालयहरुसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले स्वदेशी श्रम र कच्चा पदार्थ उपयोगी गरी सन्चालनमा ल्याईने उद्योगलाई प्रोत्साहन गर्नेदेखि उद्योगसम्म जाने बाटो निर्माण गरिदिने जस्ता आर्कषक नारा अघि सारेको छ ।

प्रकाशित मितिः     १२ जेष्ठ २०७६, आईतवार ०७:५४  |