बाँके १२ जेठ : रकम हिनामिनाको ढाकछोप गर्न नेपालगञ्जस्थित सहकारी वित्तिय विकास सस्था लिमिटेडको सम्पूर्ण काम १५ दिनका लागि आईतबारबाट बन्द गरिएको छ । संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीको हस्ताक्षर रहेको सार्वजनिक सूचना टाँस गरि बित्तिय कारोवार रोक्ने भनेपछि सेवाग्राहीहरु निरास बनेका छन् ।
टाँस गरिएको सूचनामा नेपालगन्ज, खजुरा र बैजापुर शाखाबाट रकम हिनामिना भएको र उक्त बिषयमा छानबिन गर्दा गर्दै मुख्य कार्यालय नेपालगन्जका कर्जा बिभाग प्रमुख अरुण कुमार पाठक, नगद बिभाग प्रमुख लिलाधर वली, जेठ ५ गतेबाट सम्पर्क बिहिन भएको उल्लेख छ । सोही कारण देखाउँदै जेठ १० गते बसेको सन्चालक समिति बैठकले १५ दिनसम्मका लागि सहकारीको काम बन्द गर्ने निर्णय गरेको हो ।
आन्तरिक छानविनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको स्रोतको दाबी छ । कागजात गरेका कर्मचारीहरु सम्पर्कबिहिन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको छ । बचतकर्ताले आइतबार सहकारी र प्रशासनमा घेराउ गरेका छन् । सहकारीका अध्यक्ष हरदेब बक्स चौधरीले प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै बैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एकबर्षभित्र रकम फिर्ता गराउने कागजात गराएको बताए ।