बाँके १२ जेठ : उद्योगी, व्यवसायीलाई कर तथा उद्योग, व्यवसायसंग सम्बन्धीत ऐन कानुनका बारेमा पर्याप्त जानकारी हुनुपर्नेमा जोड दिईएको छ । बागेश्वरी एकाउण्टिङ्ग एण्ड एडभाईजरी सर्भिस प्रालिसंगको समन्वयमा नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा आईतबार सम्पन्न भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अरुका भरमा उद्योग, व्यवसाय चल्न नसक्ने भएकाले कर प्रणाली सम्बन्धी व्यवस्थाका बारेमा जानकार हुनुपर्ने बताए । आफ्नो कार्यकालमा यस सम्बन्धी बिभिन्न तालिम तथा प्रशिक्षणहरु आयोजना गरिएको अध्यक्ष बैश्यले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टंक धामीले कर प्रणालीका बारेमा अपटेड हुन नसके दुःख पाइने भएकाले समयमै जानकारी राख्न आग्रह गरे । कार्यक्रममा चाटर्ड एकाउण्टेन राजकुमार फुयालले कर प्रणाली, सामाजिक सुरक्षा कार्यक्रम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।