बाँके १३ जेठ : खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीमा सोमबार साँझ पाँच बजे पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते मध्ये ५० वर्षिय दिपबहादुर श्रीषको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइतेको पहिचान खुल्न सकेको छैन । शरिरको बिभिन्न भागमा गहिरो चोट लागेका श्रीषको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
घटनाका प्रत्यक्षदर्शी दिलबहादुर श्रीषका अनुसार, पाटेबाघले किरणखोलामा आक्रमण गरेको थियो । शुरुमा उक्त बाघले खोलामा कछुवाको खोजी गर्ने इन्द्रपुरका स्थानीयको टोलीलाई आक्रमण गर्यो । आक्रमणबाट जोगिएर भाग्दै गाउँमा आएको उक्त समूहका दुई जनालाई छातीमा बाघले चिथोरेको प्रत्यक्षदर्शीले बताए । आक्रमण गर्ने पाटेबाघ थियो ।
‘गाउँका धेरै जना घरबाहिर बसेका थियौं । अचानक इन्द्रपुरमा मानिसहरु भाग्दै हामी भएकोतिर आए । बाघ होकी कस्ले हो आक्रमण गर्यो भनेपछि हामी कुकुर सहित खोलातिर गयौं ।’ दिलबहादुरले भने–‘कुकुर भुकेको सिकेण्डमै हामी मध्ये बीचमा रहेका दिपबहादुरलाई बाघले झम्टियो । हामीले के भयो भन्ने थाहा नै पाएनौं ।’ बाघले आक्रमण गरे भुईमा लडाएपछि आफु लगायत अरुले बाघ माथि ढुगांमुढा गरेको दिलले बताए । त्यसपछि बाघ भागेको उनले बताए । बाघको आक्रमणमा घाइते भएका श्रीषलाई नेपालगन्ज ल्याईएको थियो । मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कनोडिया आफै आएर घाइतेको स्वास्थ्य परिक्षण गरेका थिए ।