तारे होटलको संख्या एक सय २९ पुग्यो


नेपालगन्जस्थित चार तारे होटल सिद्धार्थ भ्यू

काठमाडौं। गत आर्थिक वर्षको तुलनामा यो वर्ष चारवटा तारे स्तरको होटल थपिएको छ। गत आर्थिक वर्षमा तारे होटलको संख्या एक सय २५ रहेकोमा यो आर्थिक वर्षमा तारे होटलको संख्या एक सय २९ पुगेको छ।

चालु आर्थिक वर्षको पुस सम्म स्तरिय होटल संख्या ११ हजार एक सय ४६ पुगेको छ। गत आर्थिक वर्षमा पर्यटक स्तरिय होटल, लज र रिसोर्टको संख्या १० हजार छ सय ९७ रहेको थियो। यो वर्षको फागुनसम्म एउटा मात्रै क्यासिनो थपिएको छ।गत वर्ष सात वटा क्यासिनो थपिएको थियो।

नेपाल आउने पर्यटकले गर्ने खर्च थप घटेको छ। सरकारले सार्वजनिक गरेको सर्वेक्षणमा एकजना पर्यटकको दैनिक औसत खर्च ४४ डलर छ। गत वर्ष पर्यटकको औसत खर्च ५४ डलर थियो। पर्यटकको बसाई अवधिनै घटेको छ।

यही कारण पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रा समेत १९ अर्ब ५० करोड रुपैयाँले घटेको छ। पर्यटकको संख्या बढ्ने तर खर्च घट्ने समस्याले पर्यटन आम्दानीलाई समेत असर परेको छ। पर्यटकको बसाई अवधि लम्ब्याएर खर्च बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ। सर्वेक्षणका अनुसार पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन रकम १९ अर्ब ५० करोड रुपैयाँले घटेको छ।आर्थिक वर्ष २०७४/७५मा पर्यटन क्षेत्रबाट ६७ अर्ब नौ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको थियो।

आर्थिक वर्ष २०७५/७६को फागुन सम्म पर्यटन क्षेत्रबाट ४७ अर्ब ५९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ। यो कुल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ६६.५ प्रतिशत, कुल वस्तु निर्यात एवं सेवा प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत र आर्जित कुल विदेशी मुद्राको अनुपातमा ४.८ प्रतिशत हो। सन् २०१८मा स्थलमार्गबाट आएका पर्यटक बाहेक ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

१७.२ प्रतिशत पर्यटक स्थलगतमार्गबाट आएका छन् भने ८२.८ प्रतिशत पर्यटक हवाईमार्गबाट आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट स्थलगतमार्गबाट आउने पर्यटकको संख्या समावेश गरिएको छैन।

सन् २०१८मा भारत, चीन,अमेरिका, श्रीलंका र बेलायत लगायत पाँच मुलुकबाट अत्याधिक पर्यटक आएका छन्। ४९ प्रतिशत पर्यटक यी पाँच मुलुकबाट आएका छन्। पछिल्लो समय यता चीन, थाईल्याण्ड र श्रीलंकाबाट आउने पर्यटकको संख्या बढेको छ।

सन् २०१८मा भारतबाहेक अन्य मुलुकबाट स्थलमार्गहुँदै आएका पर्यटक मध्ये भैरहवाको बेलहिया नाका बाट मात्र ८२.३ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् भने टिमुरे रसुवा नाका हुँदै ११.९ प्रतिशत पर्यटक भित्रिएका छन्। श्रीलंका, थाइल्याण्ड, म्यानमार, चीन, दक्षिण कोरियाबाट क्रमशः २८.४, १५.९, १४.८, ९.५ र ३.७ प्रतिशत पर्यटक स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आएका छन्।

सन् २०१८मा मनोरञ्जनका लागि ६० प्रतिशत, पदयात्रा तथा पर्वतारोहणका लागि १६ प्रतिशत, तीर्थ यात्रका लागि १४.४ प्रतिशत र अन्य ९.६ प्रतिशत पर्यटक आएका छन्।

यो अवधिमा दुई हजार तीन सय ३० पर्वतारोहीले पर्वतारोहण गरेका छन्। गत वर्ष दुई हजार दई सय ७७ पर्वतारोहीले पर्वतारोहण गरेका थिए।यसैगरी छ हजार पाँच सय मिटर भन्दा माथिका हिमालबाट सरकार र पर्वतारोहण संघले यो वर्ष ५८ करोड १५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७६, मंगलवार ०७:४४  |