कोहलपुर-धामपुर प्रशारण लाईनमा पोल गाड्ने काम शुरु


नेपालगन्ज,१६ जेठ : दश वर्षसम्म रोकिएको कोहलपुर-धामपुर प्रशारण लाईन निर्माणको काम बुधवारबाट शुरु भएको छ । राप्तीपारीका गाउँहरुमा बिद्युत लैजान महत्वपूर्ण मानिने उक्त प्रशारण लाईनका लागि पोल गाड्ने काम शुरु भएको हो । बिहिवारसम्म १२ वटा पोल गाड्न सकिएको छ ।
राप्ती सोनारी गाउपालिकाको धामपुर, बैजापुरमा रहेको ३३र११के.भि. ६र८ एम.भि.ए. सबस्टेसन चार्ज गर्न कोहलपुर-धामपुर ३३ के.भि. प्रशारण लाईनको निर्माण कार्यमा शुरु गर्नु अनिवार्य थियो । सोही कामका लागि राप्तीपारी जङ्गल क्षेत्रमा लाईन निर्माण कार्य भएको हो । उक्त कामको बिद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंह लगायतका कर्मचारीले अनुगमन गरेका थिए ।


वनक्षेत्रमा पर्ने भएकाले लामो समयदेखि उक्त क्षेत्रमा पोल गाड्ने काम शुरु हुन सकेको थिएन । संघीय सांसद महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना लगायतको पहलपछि बिभिन्न बाधा समाधान भई काम सुचारु हुन सकेको हो ।

प्रकाशित मितिः     १६ जेष्ठ २०७६, बिहीबार १८:१६  |