नेपालगन्ज १७ जेठ : आर्थिक वर्ष २०७६/७७ को बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै नेपालगन्जका गार्मेन्ट उद्योगीहरुले स्वागत गरेका छन् । नेपालगन्ज पश्चिम नेपालकै ठुलो गार्मेन्ट उत्पादन हुने शहरका रुपमा चिनिन्छ । यहाँ साना ठुला झण्डै तीन दर्जन गार्मेन्ट उद्योगहरु सन्चालनमा छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनुभएका कमल गार्मेन्ट उद्योगका सन्चालक टंक बहादुर धामीले बजेट सकारात्मक आएको र यसले स्वदेशी गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्ने आशा पलाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,–‘स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी आएको बजेटलाई सकारात्मक मान्नुपर्छ । व्यवहारिक कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरा हेर्न बाँकी छ ।’
महिला उद्यमीले सन्चालन गर्ने गार्मेन्ट उद्योगको ऋणमा पाँच प्रतिशत छुट नीति बजेटमा आएको भन्दै धामीले यसले महिलाहरुलाई उद्यमक्षेत्रमा लाग्न थप प्रोत्साहित गर्ने बताउनुभयो । अहिले पनि बाँकेमा सन्चालित उद्योग मध्ये तीस प्रतिशत महिला उद्योगीहरु रहेका छन् । उनीहरुलाई राहात हुने र नयाँ उद्यमी आउन प्रोत्साहन मिल्ने धामीको बुझाई छ ।
https://nepalgunjbusiness.com/2019/05/7163/