बाँके १९ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारी आउने मंगलबार नेपालगन्जमा हुने मुस्लिम समुदायको ‘इफ्तार’ कार्यक्रममा सहभागि हुँदै हुनुहुन्छ । पहिलो पटक राष्ट्रप्रमुख ‘इफ्तार’ कार्यक्रममा सहभागि हुने भएपछि अल्पसंख्यक मुस्लिम समुदाय हर्षित छन् । एक महिनासम्म पानी समेत नखाई बसिने रोजा बस्ने गरिन्छ । मुस्लिम समुदायको पाँच स्तम्भ मध्ये रोजा पनि एक हो ।
रोजा हरेक हरेक साँझ ७ बजेर १० मिनेट पछि खुल्छ । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले व्यक्तिगत वा सामुहिकरुपमा बसेर परम्परागत बिभिन्न परिकार खाने प्रचलन रहेको मुस्लिम समुदायका अगुवा एवं इत्तेहात संगठनका केन्द्रीय नेता मोहमद हारुनले बताउनुभयो । सोही इफ्तार कार्यक्रममा राष्ट्रप्रमुखको सहभागिता हुनुलाई उत्साहका रुपमा हेरिएको उहाँको भनाई छ । ‘यसले राष्ट्रप्रमुखको नजरमा देशको सबै धर्म, सम्प्रदाय एक छ भन्ने सन्देश प्रवाह भएको छ ’ हारुनले भन्नुभयो–‘यस अर्थमा अल्पसंख्यक मुस्लिम समुदाय खुःसी छन् ।’
राष्ट्रपति बिद्यादेवी भण्डारी मंगलबार नेपालगन्ज आउँदै हुनुहुन्छ । उहाँ साँझ साढे पाँच बजेपछि सिद्धार्थ कटेजमा शुरु गरिने इफ्तार कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुहुने उक्त इफ्तार कार्यक्रमको समेत अगुवाई गरिरहनुभएका हारुनले जानकारी दिनुभयो । ‘सात बजेसम्म इफ्तारको कार्यक्रम हुन्छ ।’ –उहाँले भन्नुभयो ।
उक्त इफ्तार कार्यक्रममा बिशेषरुपमा बिरयानी, सेमै,खजुरका परिकार राखिन्छ । यस बाहेक अन्य फलफुल लगायतका परिकार पनि हुने छ । मुख्यरुपमा बिरयानी, सेमै, खजुर इफ्तारमा धेरै प्रयोग हुन्छ । राष्ट्रपति सहभागि हुने इफ्तारको तयारीमा एक महिनादेखि नै यहाँका मुस्लिम समुदाय जुटेका थिए । अहिले सम्पूर्ण तयारी पुरा भएको हारुनले जानकारी दिनुभयो ।