नेपालगन्ज २५ जेठ : चालु आ.व. सकिनका लागि अब दुई महिना मात्रै बाकी छ । तर, प्रदेश सरकारले जिल्लामा छुट्याएको बजेट अत्यन्त न्यून मात्र खर्च हुन सकेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका अनुसार, प्रदेश सरकार अन्तर्गतको पूजिगत खर्च चालु आ.व.को बैशाख मसान्तसम्म जम्मा २१ प्रतिशत मात्रै भएको छ ।
प्रदेश सरकारले बाँकेका लागि आ.व. ०७५/०७६ का लागि १ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आ.व.को १० महिना बितिसक्दा खर्चको प्रतिशत भने २६ मात्रै रहेको छ । पूजिगत तर्फ प्रदेश सरकारले विनियोजन गरेको १ अर्ब ३५ करोड रुपैयाँ मध्ये जम्मा २१ करोड ९३ लाख रुपैयाँ मात्रै खर्च भएको छ भने चालु तर्फ छुट्याएको ६२ करोड ४६ लाख मध्ये २९ करोड रुपैयाँ खर्च भएको तथ्यांक कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जको तथ्यांकमा उल्लेख छ । पूजीगतर्फको खर्च १६ प्रतिशत मात्रै हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख राम चन्द्र शर्माले प्रदेश सरकारले जिल्लाका लागि छुट्याएको बजेट खर्च सन्तोषजनक हुन नसकेको बताउँछन् । उनी प्रदेश अन्तर्गतका कार्यालयहरु ढिलो खुल्नु, पर्याप्त कर्मचारी नहुँदा खर्च कम भएको बताउछन् । ‘कार्यालय र कर्मचारी दुवै समयमा व्यवस्थापन नहुँदा विकासे कार्यका लागि ठेक्का, टेण्डर नै समयमा हुन सकेनन्’, कोलेनिका प्रमुख शर्मा भन्छन्, ‘तर, असार मसान्तसम्म सन्तोषजनक रुपमै खर्च हुनसक्ने अपेक्षा छ ।’ पूँजीगत खर्च न्यून हुँदा विकासका लागि छुट्याइएको बजेट फ्रिज हुने जोखिम एकातिर देखिन्छ भने अर्कोतिर विगत जस्तै असारमै हतार हतारमा काम गर्नुपर्ने स्थिति आउने देखिन्छ ।
संघको ७१ प्रतिशत बजेट खर्च
संघीय सरकारबाट बाँकेका लागि चालु आ.व.मा कुल १४ अर्ब ५४ करोड बजेट छुट्याएको १० अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ७१ प्रतिशत हो । चालु तर्पm ७८ प्रतिशत बजेट खर्च भैसकेको छ ।
चालु तर्फ ७ अर्ब ६२ करोड रुपैयाँ बजेट रहेकोमा ६ अर्ब ९५ करोड रुपैयँ खर्च भैसकेको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ को बैशाख मसान्तसम्म संघीय सरकारबाट बाँकेलाई प्राप्त पूँजीगत बजेटको ६२ प्रतिशत रकम खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका अनुसार चालु आ.व.का लागि पूँजीगत तर्फ प्राप्त ६ अर्ब ९२ करोड बजेट रकम मध्ये बैशाख मसान्तसम्म ४ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो । ‘संघीय सरकारबाट प्राप्त बजेट खर्च सन्तोषजनक छ’, कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख राम चन्द्र शर्माले भने, ‘अझै दुई महिना बाँकी रहेको विकासका कामहरु भैरहेकाले आर्थिक बर्ष सकिंदासम्म खर्चको दर राम्रो रहने सम्भावना छ ।’
अघिल्ला आ.व.मा सञ्चालित विकासका कामहरुको भुक्तानी यसबर्ष भएको, यसबर्ष समयमै विकासका कामहरु भैरहेकाले पनि खर्च प्रतिशत सन्तोषजनक देखिन्छ ।