नेपालगन्जलाई गर्मीबाट जोगाउन दश हजार रुख रोप्ने योजना


बाँके २५ जेठ : नेपालगन्जको चर्को गर्मी छल्न दश हजार ठुला रुख रोप्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले बताउनुभएको छ । देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको यहाँ हरियो रुखको नाम निशान नै छैन ।

सडक पूर्वाधारको काम गर्दा भएकै रुख पनि काट्नुपरेको थियो । नयाँ रुख रोप्न अत्यावश्यक भइरहेका बेला नेपालगन्जका सांसद समेत रहनुभएका शहरी विकास मन्त्री राईले दश हजार ठुला रुख रोप्ने योजना सार्वजनिक गर्नुभएको छ । शनिबार बिहान नेपालगन्जमा आयोजित एक कार्यक्रममा मन्त्री राईले भन्नुभयो,–‘असाध्यै गर्मी हुने नेपालगन्जमा हराभरा नभई नहुने रहेछ । यहाँको गर्मी छल्न दश हजार ठुला रुख रोप्ने योजना बनाएका छौं ।’

शहरी विकास मन्त्री मो. ईस्तियाक राई ।

मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिकासंग सहकार्य गरेर कामको थालनी गरिने पनि बताउनुभयो । ‘उपमहानगरपालिकासंग सम्भवत यस बिषयमा आजै बस्छु ।’–मन्त्री राईले भन्नुभयो । अधिकांस ठाउँमा सडक बिस्तार भइसकेको र रुख रोप्नका लागि आवश्यक पर्ने खाली ठाउँको जोहो हुने सम्भावना रहेका आफुहरुको योजना सहजै कार्यान्वयन हुनेमा मन्त्री राई ढुक्क हुनुहुन्छ ।

बिरुवा लगाउँदा ठुलो हुन समय लाग्ने भएकाले सम्भवत केही ठुला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजनामा शहरी विकास मन्त्रालय रहेको छ । शहरी विकास मन्त्रालयको योजना कार्यान्वयनमा आए नेपालगन्ज हरित शहरका रुपमा बिस्तार भई गर्मीबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०७६, शनिबार ११:२४  |