बाँके २५ जेठ : बाँकेका संस्थागत बिद्यालयका अगुवाले शहरी विकास मन्त्री मोहमद ईस्तिायक राई समक्ष ‘शिक्षाक्षेत्रमा योगदान दिंदा’ राज्यका तर्फबाट ‘अपमान सहनुपरेको’ दुःखेसो सुनाएका छन् । इद मनाउन नेपालगन्ज आउनुभएका शहरी विकास मन्त्रीलाई शनिबार प्याब्सनका तर्फबाट भेटघाट गर्दै संस्थागत बिद्यालयका अगुवाहरुले यस्तो दुःखेसो पोखेका हुन् ।
संस्थागत बिद्यालयका अगुवा बिद्यामान राजभण्डारीले मन्त्री राई समक्ष भन्नुभयो,–‘हामीले देशभर शैक्षिक विकासमा योगदान पुर्याएको कुरामा सत्तामा बस्नेहरुले महसुस गर्न नसकेको देखियो । यो समस्या पहिलेबाटै हो ।’ शिक्षाक्षेत्रमा धेरै समस्या उत्पन्न भइरहेको बताउँदै राजभण्डारीले सुधारका लागि सरकारसंग निजीक्षेत्र हातेमालो गर्न तयार भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्याब्सन प्रदेश समिति सदस्य सुनिल कुमार गुप्ताले राज्यले आफुहरुलाई ‘मदिरा बेच्नेलाई भन्दा हेप्ने काम गरेको’ बताउनुभयो । उहाँले भन्नुभयो,–‘के हामीले यो देशमा कुनै प्रकारको योगदान नदिएकै हो त ?’ प्याब्सन नेपालगन्ज उपमहानगरपालिका समितिका अध्यक्ष विकास बज्राचार्यले यहाँको संस्थागत बिद्यालयका समस्या र समाधानका बिषयमा मन्त्री राईको ध्यानार्कषण गराउनुभएको थियो ।
शिक्षाक्षेत्रका अगुवाहरुसंको बसाई र उठेका सवाल सम्बोधनका लागि आफु गम्भीर रहेको मन्त्री राईले बताउनुभयो । उहाँले निजीक्षेत्रको सहकार्यबिना देश समृद्ध हुन नसक्ने भएकाले संस्थागत बिद्यालयका अगुवाई हतोत्साहीत नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,–‘तपाईहरुका पनि समस्या छन् । ती समस्या समाधान गर्ने हो तर हतोत्साहीत बनाउने नियत कसैको हुनुहुँदैन ।’ प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्याब्सन नेपालगन्ज उपमहानगरपालिका समितिका सचिव मानबहादुर थापाले गर्नुभएको थियो ।