हाइब्रिड गाडीमा ५० प्रतिशत छुट, कस्ता हाइब्रिड कार आउलान् नेपाल ?


काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट हाइब्रिड कारमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशतले छुट दिएको छ ।

अहिले यस्ता खाले गाडीमा मूल्यमा ८० प्रतिशत भन्सार महशुल र ६० प्रतिशत अन्तशुल्क लाग्छ । अर्थमन्त्रीले ५० प्रतिशत भन्सार र अन्तशुल्क कटौती गरेपछि ४० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिष्टोन इन्जिन (

डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका गाडीमा लाग्ने भन्सार र अन्तशुल्क ५० प्रतिशतले कम गरिदिएका हुन् । यो निर्णयसँगै आगामी दिनमा नेपाली बजारमा अब हाइब्रिड कार आयातले प्राथमिकता पाउने देखिएको छ ।

हाल नेपाली बजारमा औपचारिक रुपमा यस्ता गाडी बिक्रीका लागि उपलब्ध छैनन् । होन्डा र टोयोटाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ र युनाइटेड ट्रेडर्स सिन्डिकेटले आफ्नै प्रयोजनका लागि केही हाइब्रिड कार प्रयोग गरेको पाइन्छ । तर महंगो मूल्य पर्ने भएकाले यी गाडी खासै बिक्रीका लागि उपलब्ध छैनन् ।

आगामी दिनमा होन्डा एकोर्ड वा टोयोटा प्रियस जस्ता हाइब्रिड सवारी साधन बिक्रीका लागि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यद्यपि कम्पनीहरुले भने आधिकारिक रुपमा यसको वारेमा केही जानकारी दिएका छैनन् । यी दुबै कम्पनीका कार नाडा अटो शो २०१९ मा नेपाल आउने अनुमान गर्न सकिन्छ । यद्यपि यी गाडीको मूल्य महंगो अर्थात करिब एक करोड रुपैयाँको हाराहारी पर्न सक्छ ।

इन्टरनल कम्बसन इन्जिन र इलेक्ट्रिक मोटर दुवै प्रयोग गर्न मिल्ने कारलाई हाइब्रिड कार भनिन्छ । यी कारमा डिजेल वा पेट्रोल इन्जिनको साथमा इलेक्ट्रिक मोटर उपलब्ध हुन्छ । पेट्रोलियम पदार्थ र ब्याट्री दुबैको प्रयोगबाट सो कार चलाउन सकिन्छ । त्यसैगरी विद्युत विनै यसको ब्याट्री चार्ज गर्न सकिन्छ ।  नेपाल अटोबाट

प्रकाशित मितिः     २६ जेष्ठ २०७६, आईतवार ०६:३३  |