‘नेपाली नोट नचल्ने’ गाउँमा बैंक खुलेपछिको उत्साह


बाँके (नरैनापुर)२६ जेठ : बैंक सन्चालनसंगै यहाँका पसल र घरमा नेपाली नोट चल्न थालेका छन् । भारतसंग सीमा जोडिएको नरैनापुर गाउँपालिका सर्वसाधारणले आर्थिक कारोवार गर्दा भारु नोट प्रचलनमा ल्याउने गरेका थिए । सडक जस्ता विकासका पूर्वाधार नहुँदा नरैनापुरका लागि सदरमुकाम नेपालगन्ज धेरै टाडा थियो । सरकारी कामकाजका लागि मात्र सदरमुकाम आउनुपथ्र्यो । अन्य अधिकांस कामका लागि सीमावर्ती भारतीय बजारमै निर्भर हुनुपरेपछि नेपाली नोट कहिल्यै चलाउन आवश्यक भएन ।

स्थानीय तहको गठनसंगै गाउँमा विकास र बैंक पुगेपछि भने नेपाली नोट चल्न थालेका छन् । घर,व्यवहारदेखि पसलमामा हुने किनमेलमा नेपाली नोट दिदा फरक नपर्ने भएको छ । विकासका कुरा गर्दा  सडकको स्तोरन्न्ती भएको छ । कुनै बेला नेपालगन्ज पुग्न चार घण्टासम्म लाग्थ्यो । अहिले भने डेढ घण्टामा सजिलै पुगिन्छ । सदरमुकाम आवात-जावतमा समस्या छैन् । दुरी घटेपछि नेपाली सामान बिक्री गर्ने गरी नरैनापुरमा पसल थाप्नेहरु बढेका छन् । भारतीय मात्र नभई स्वदेशी सामानको बिक्री पनि हुन थालेको छ ।

२०७४ फाल्गुणदेखि सन्राइज बैंकले शाखा बिस्तार गरेपछि त यहाँ बित्तिय कारोवारमा सर्बसाधारणको रुची बढेको छ भने नेपाली नोट चल्न थालेका छन् । बैंकका शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा भन्छन्,–‘यहाँ आउँदा त मैले पनि खर्चको लागि भारु नोट ल्याएर आएको थिए । भारुमा कुनै पनि किनमेल गर्नु बाध्यता थियो । तर अहिले नरैनापुर धेरै फेरिएकोे छ । अब नेपाली नोट पनि चल्छ ।’

भारुको प्रयोग पुरै घटेको छैन । अझै पनि ठुलो मात्रामा भारु नै चलनचल्तीमा छ । ‘गाउँमा विकास आयो । बैंक आएसंगै नेपाली नोट चलाउनुपर्छ भन्नेको संख्या थपिदै छ । यो हाम्रा लागि ठुलो कुरा हो ।’– सनराइजका शाखा प्रबन्धक देवकोटाले भन्नुभयो । सरकारी जम्मै काम बैंकबाटै हुन्छ । सरकारी र स्थानीय गरी ५५ सय जति खाता खुलेका छन् । यो तथ्यांकले पनि नरैनापुरमा बैंक र बित्तिय कारोवारमा चासो बढेको पुष्टि हुने देवकोटाले बताए । उनले भने–‘बुझाउन धेरै मेहेनत लाग्यो । अहिले स्वस्फुर्तरुपमा खाता खोल्न आइरहनुभएको छ ।’

सनराइज बैंक नरैनापुर शाखामा सेवा लिन आएका एक बृद्ध । यही बैंकले जिल्लाकै दुगर्म गाउँमा बित्तिय सेवा दिइरहेको छ ।

बैंक खुलेपछि सबैभन्दा सानो उद्यम गर्नेलाई पैसा जम्मा गर्न र बिदेश गएकालाई पैसा पठाउन राहात भएको छ । नरैनापुर वडा नम्बर ७ की शुन्दरी यादव श्रीमानले पठाएको पैसा बुझ्न आएका बेला आईतबार बैंकमा भेटिइन । एक दिन खर्चेर नेपालगन्जमा पैसा बुझ्न जानुपर्ने बाध्यता अहिले हटेको भन्दै शुन्दरीले प्रशन्नता व्यक्त गरिन । उनले भनिन्,–‘नेपालगन्ज आउँदा जाँदा श्रीमानले पठाएको पैसा कतै हराउँछकी भन्ने डर हुन्थ्यो । अहिले घर आगनमै बैंक आएपछि आनन्द भएकोे छ ।’ बिदेशबाट पैसा बुझ्नका लागि नेपालगन्ज नआउनेहरु भारतमा समेत जाने गरेका थिए । त्यसरी जाँदा पैसा चोरिने डर अहिलेलाई हटेको स्थानीय निजामुद्धिन खानले बताए ।

‘गाउँमा विकास र बैंक आएपछि नेपाली नोट चल्न थालेको छ । जहाँबाट पैसा पठाएपनि अब निकाल्नका लागि कतै भौतारिनुपर्ने अवस्था छैन ।’ निजामुद्धिन भन्छन–‘नत्र पहिले पैसा जम्मा गर्न र निकाल्न नेपालगन्ज धाउनुपथ्र्यो ।’ सन्राइज बैंकका शाखा प्रबन्धक देवकोटाले शुरु बैंकका बारेमा सर्बसाधारणलाई बुझाउन कठिन भएपनि अहिले सहज भइरहेको बताए । बैंक अहिले सोलारबाटै सन्चालनमा छ । बिजुली र भरपर्दो इन६रनेटको सुविधा नहुँदा काम गर्न समस्या छन् । नरैनापुरमा आउने भएको बिजुली आउने बित्तिकै थप बैंक तथा बित्तिय कारोवार गर्ने संस्था खुल्न सम धेरै नलाग्न सक्छ ।

प्रकाशित मितिः     २६ जेष्ठ २०७६, आईतवार १७:३०  |