‘राप्तीपारी बिजुली ल्याउने योजनामा कसैको आँखा नलागोस्’


नरैनापुरका एक स्थानीय सोलारबाट फोटोकपी मेशिन चलाउँछन् । बिजुली भएको भए अरु थप काम गर्ने उनको योजना पुरा भएको छैन ।

बाँके (नरैनापुर) : मोहमद ईस्तियाक खानले अटो रिक्सा किने । त्यसबाट घरखर्च चल्छ । स्थानीयलाई ओहोरदोहोर गर्न पनि सजिलो भएको छ । तर गाउँमा बिजुली नभएकाले जेनेरेटेर चलाएर अटो चार्ज गर्नुपर्ने बाध्यता छ । ‘जेनेरेटरबाट चार्ज गर्दा पैसा महङ्गो पर्छ । बिजुली भएको भए सजिलो हुन्थ्यो’ खान भन्छन्–‘गाउँमा बाटो आएपछि रिक्सा चलाउन त शुरु गरे त बिजुली नहुँदा दुःख पाएको छु ।’

बिजुली नहुँदा सास्ती खेप्ने खान एक्ला व्यक्ती होइनन् । नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांस वडाका सर्बसाधारणले बर्षौदेखि यस्तै पीडि भोग्दै आएका छन् । खानसगै भेटिएका नरैनापुरका अर्का सर्बसाधारण सरकारप्रति व्याङ्गग्य गर्दै भन्दै थिए,–‘बिजुली आएपछि यहाँका सर्बसाधारणलाई सजिलो हुन्छ भनेर त बिजुली नदिएको होला ?’ यहाँका सर्बसाधारणका लागि बिजुलीको व्यवस्था गर्न सामुदायिक र ग्रामिण बिद्युतीकरण अभियान सन्चालन भएका छन् । तर ठेकेदार कम्पनीले दश वर्षसम्म झुलाएपछि काम अघि बढ्न सकेको छैन् ।

बिद्युत प्राधिकरणले पछिल्लो एकवर्षयता राप्तीपारी बिद्युत लैजान उल्लेखिय प्रगति गरेको छ । धामपुरमा ३३ केभिए क्षमताकोे सबस्टेशन निर्माण गरिसकेको छ । उक्तक्षेत्रका सांसद महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी नमुनाकोको पहलमा रुख कटान जस्ता ठुला अवरोधहरु चिर्ने काम भएपछि अब राप्तीपारीका गाउँमा बिजुलीको उज्यालो हुन्छ भन्ने आशा पलाएको थियो । तर ठेकेदार कम्पनीले पछिल्लो चैतसम्म पनि कुनै काम अघि नबढाएपछि प्राधिकरणले ठेक्का सम्झौता रद्ध गरिदियो । प्राधिकरणको निर्णय बिरुद्ध उल्टो ठेकेदार कम्पनीले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मुद्दा दायर गर्न पुगे । अदालतले अहिले प्राधिकरणका नाममा कारण देखाउ आदेश दिएको छ ।

निरन्तररुपमा काम अघि बढिरहेका बेला उक्त बिषय अदालतसम्म पुगेपछि अब के हुन्छ भन्ने पर्खिने बिषय बनेको छ । यो कुरा थाहा पाएका नरैनापुर र राप्तीसोनारी गाउँपालिका सर्बसाधारण निरास बनेका छन् । उनीहरु भन्छन्,–‘सम्मानित अदालतले हामीलाई न्याय दिने छ ।’ गाउँमा स्थानीय तहको गठनसंगै विकासको चहलपहल भएको छ । बाटो,घाटो बन्न थालेको छ । बैंकहरु पुग्न थालेका छन् । तर बिजुली नहुँदा सबै काम जेनेरेटर र सोलारबाट चलाउनुपर्ने बाध्यता छ । गाउँका स्थानीय ७५ बर्षिय बंशिधर बाहुन भन्छन्,––‘यो उमेरमा भएपनि बिजुली देख्ने मन छ । यहाँ आउने बिजुलीमा कसैको आँखा नलागोस् ।’ नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहमद ईस्तिायक कुनै पनि बहानामा राप्तीपारी बिजुली ल्याउन ढिलाई गर्न नहुने बताएका छन् । उनले बिजुली ल्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताए ।

 

https://nepalgunjbusiness.com/2019/06/7414/

प्रकाशित मितिः     २७ जेष्ठ २०७६, सोमबार १०:१८  |