बाँके,२ असार : कर्णाली प्रदेशले प्रदेश नंं ५ संग जोड्नका लागि सुर्खेत –भुरीगाउँ–तेलपानी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । उक्त मार्गलाई सुर्खेतदेखि बर्दिया जोड्ने सबैभन्दा छोटो दूरीको (फास्टट्रयाक) का रुपमा हेरिएको छ । उक्त क्षेत्रमा सडक बने हालको कोहलपुर–बीरेन्द्रनगर रत्नराजमार्गको बिकल्प बनाउने तयारी भइरहेको छ ।
आईतबार प्रदेशको संसदमा प्रस्तुती आ.व २०७६र०७७ को बजेटमा सुरुङ्गमार्गको बिषय प्रवेश पाएको छ । बजेटमा सडक शिर्षकमा ‘कर्णाली प्रदेशलाई देशका अन्त्य प्रदेशसँग जोड्नका लागि सुर्खेत–भुरीगाउँ–तेलपानी सुरुङ्ग मार्ग’को अध्ययन गरिने उल्लेख छ ।
त्यस्तै सुदूरपश्चि प्रदेशसंग जोडिन लैफु–रुप्सा–रामारोशन अछाम,बाजुरा–कवाडी–ताजाकोट–अदानचुली–सर्केगाड–खार्पुनाथ–खगालगाउँ–नम्खा, रुकुम–कालिमाटी–कोहलपुर,रानीघाट–कर्णाली चिसापानी जस्ता सडकको स्तोरन्नती, सम्भाव्यता अध्ययनका लागि रु १० करोड छुट्याईएको छ ।
सुर्खेत–भुरीगाउँ–तेलापानी सडकखण्डमा सुरुङ्गमार्ग बनाउने बिषयमा बिस्तृत उल्लेख छैन । यद्यपी सो सडक खण्ड निर्माणका लागि चौतर्फी दबाब छ । भुरीगाउँ–सुर्खेत सडक निर्माणका लागि ८ वर्षदेखि चर्चा चलिरहेको छ । स्थानीयले निरन्तर दबाब दिँदै आएका छन् । सडकदेखि सदनसम्म माग उठे पनि निर्माणले गति लिन सकेको छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भुरीगाउँदेखि सुर्खेतको तेलपानी जोड्ने सडकको लम्बाइ ५१ किमि छ ।
सबैभन्दा बढी ३९ किमि चुरेको जंगल क्षेत्रमा छ । त्यसमध्ये २७ किमि निकुञ्ज क्षेत्र हो । वीरेन्द्रनगरदेखि बर्दिया निकुञ्जको सीमा तेलपानीसम्म ३१ किमि सडक निर्माण भइसकेको छ । सडक निर्माण हुने क्षेत्रमा बाघ, हात्ती, चित्तल, घोरल, बंगुरलगायत वन्यजन्तुको बासस्थान रहेको छ ।