नेपालगन्ज ३ जेठ : बाँकेमा ठुला उद्योग खुल्नेक्रम बढेपनि स्थानीयले रोजगारी भने पाउन सकेका छैन । अधिकांस उद्योगमा भारतीय कामदार कार्यरत छन् । तर यता होटलक्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयले काम पाउँदा हर्षित छन् ।
उद्योग बिभागका अनुसार २०४६ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग दर्ता भए । अधिकांस उद्योग राम्रोसंग सन्चालन भइरहेका बेला दशवर्षसम्म चलेको द्धन्द्धले ती उद्योग धरासायी बन्न पुगे । २०६२र०६३ सालपछिको राजनीतिक परिवर्तनसंगै जिल्लामा पुन : एकपछि अर्को ठुला उद्योग सन्चालन हुने क्रम बढेको छ । उद्योग खोल्दा यहाँका स्थानीय हर्षित हुनुपर्ने हो तर अह ! रोजगारी नै नपाएपछि के हो हर्षित हुनु ? बाँकेमा सबैभन्दा धेरै उद्योग सन्चालनमा रहेको जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष सुरेश यादवले नेपालगन्ज बिजनेशसंगको कुराकानीमा भने,–‘हाम्रो वडामा दर्जनौ उद्योग सन्चालनमा छन् । तर पनि स्थानीयले रोजगारी पाउन सकेका छैनन् । मात्र धुलो, धुवा र प्रदुषण मात्र पाएका छौं ।’ वडा नं. ६ का बासिन्दाको जस्तो यस्तो पीडा बाँकेभर एउटै छ ।
बाँकेमा सिमेन्ट उद्योग, छड, प्लाष्टिक, फलाम जस्ता सामाग्री उत्पादन गर्ने ठुला उद्योग सन्चालनमा आइसकेका छन् । तर त्यहाँ अधिकांस कामदार भारतीय छन् । बाँकेमा भारतीय कामदार कति छन् भन्ने थाहा छैन । श्रम स्वीकृती लिन नपर्ने र श्रम अटिडको दायरामा आउन नसकेका कारण उनीहरुको तथ्यांक एकिन हुँदैन । सीमावर्ती भारतीय गाउँका मजदुरहरु त बिहान साईकलमा आएर साँझ घर फर्किहाल्छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौं नेपाली बिदेशी गइरहेका बेला नेपालमा भने यसरी भारतीय कामदारहरु भरिभराउ भएका छन् । मजदुर नेताहरुले स्वदेशी कामदार राख्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
उद्योगीका आफ्नै समस्या
उद्योग सन्चालकहरु भने बाध्यताका कारण स्थानीयलाई रोजगारी दिन नसकेको बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगी भन्छन,–‘सकभर आफ्नै नेपाली दाजुभाईलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकाले बाहिरबाट काममा ल्याउनुपर्ने बाध्यता छ ।’
सिमेन्ट, छड जस्ता उत्पादनमुलक उद्योग नेपालीहरुका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकाले सुरु सुरुमा भारतीय कामदारहरु राख्नुपर्ने बाध्यता रहेको उद्योगीहरुको भनाईछ । बिस्तारै सिक्दै जाँदा स्वदेशी कामदारहरुको संख्या बढाउँदै लैजाने उद्योगहरुले बताएका छन् । भारतीय कामदार राख्नुमा नेपालीमा सिपयुक्त नभएको मात्र कारण भने होइन । भारतीय कामदारहरु संगठित भई आन्दोलन गर्न नसक्ने भएकाले पनि उद्योगहरुले उनीहरुलाई रुचाउने गरेका छन् ।
होटलमा भने स्थानीयलाई प्राथमिकता
बाँके जिल्लामा उत्पादनमुलक उद्योगपछि सबैभन्दा धेरै लगानी होटलक्षेत्रमा भएको छ । यहाँ संयौको संख्यामा रोजगारी सिर्जना भएको छ । तर त्यहाँ उत्पादनमुलक उद्योगमा जस्तो भारतीय कामदार छैनन् । अधिकांस नेपाली त्यसमा पनि स्थानीय नै छन् । होटल क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपाने भन्छन्,‘सबै कर्मचारीहरु स्थानीय नै छन् । देशमा रोजगारी सिर्जना गर्नुमा होटलक्षेत्रको भूमिका महत्वपूर्ण छ ।’