असारबाट यसरी शुरु हुँदै छ दश हजार रुख रोप्ने योजना


‘हरित नेपालगन्ज बनाउने अभियान अन्र्तगत यही महिनाभित्र रुख रोप्न शुरु गर्दैछौ’– शहरी विकास मन्त्री राईले नेपालगन्ज बिजनेशसंगको कुराकानीमा भन्नुभयो,–‘टेण्डर प्रक्रिया शुरु हुँदैछ । त्यो प्रक्रिया सकिएपछि भारतबाट रुख ल्याउने काम हुन्छ । यस्तो रुख भारतमै पाइने भएकाले उताबाट मगाउन लागेका हौं ।’ रुख रोप्ने अभियानको उद्घाटन गर्न मन्त्री राई स्वयं नेपालगन्ज आउँदै हुनुहुन्छ ।


बाँके ३ असार : नेपालगन्जका सांसद समेत रहनुभएका शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले जेठको अन्तिम साता ‘नेपालगन्जमा दश हजार रुख रोप्ने’ घोषणा गर्नुभयो । चर्को गर्मीबाट आहात भएका सर्बसाधारणले मन्त्री राईको उक्त योजना सुन्ने बित्तिकै स्याबासी दिए । सामाजिक सन्जालमा स्याबासी दिने मात्र थिएनन्, योजना गफमा सीमित हुन्छ की भनेर आशंका गर्ने पनि थिए ।

तर त्यस्तो आशंकालाई मन्त्री राईले गलत सावित गरिदिनु हुने भएको छ । दश हजार रुख रोप्ने अभियान यही असार महिनाबाट शुरु हुँदैछ । शहरी विकास मन्त्रालयले पहिलो चरणमा तेस्रो साताभित्र सडकको ग्रीनबेल्ट र किनारामा रुख रोप्न शुरु गर्ने तयारी गरेको छ । ‘हरित नेपालगन्ज बनाउने अभियान अन्र्तगत यही महिनाभित्र रुख रोप्न शुरु गर्दैछौ’– शहरी विकास मन्त्री राईले नेपालगन्ज बिजनेशसंगको कुराकानीमा भन्नुभयो,–‘टेण्डर प्रक्रिया शुरु हुँदैछ । त्यो प्रक्रिया सकिएपछि भारतबाट रुख ल्याउने काम हुन्छ । यस्तो रुख भारतमै पाइने भएकाले उताबाट मगाउन लागेका हौं ।’ रुख रोप्ने अभियानको उद्घाटन गर्न मन्त्री राई स्वयं नेपालगन्ज आउँदै हुनुहुन्छ ।

शुरुमा मुख्य सडक सुर्खेतरोडमा रुख रोप्ने कार्य हुनेछ । बाहिरबाट आउने जो कोहीको आँखा पर्ने भएकाले सुर्खेतरोडको ग्रीनबेल्ट र सडक किनारामा रुख रोप्ने योजना बनाईएको छ । ग्रीनबेल्टमा रुख रोप्ने ठाउँ भएपनि सडक किनारामा ठाउँ अभावले समस्या हुने देखिन्छ । ठाउँ अभावमा रुख रोप्न समस्या पर्ने देखिएपछि शहरी विकास मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका संग सहजिकरण गरिदिन आग्रह गर्नुभएको छ । मन्त्री राईले भन्नुभयो,–‘यस बिषयमा मेयर ज्यूसंग पनि कुराकानी भएको छ । उहाँहरुको साथ र सहकार्यमा हरित नेपालगन्ज बनाउने अभियान साकार हुन्छ ।’ जमुनाहदेखि राँझासम्मको सडकमा रुख रोपेपछि भित्री सडकमा जाने तयारी भइरहेको छ ।

ग्रीनबेल्टमा सर्लक परेको र हाङ्गा,बिङ्गा नभएका रुख लगाइनेछ । ग्रीनबेल्टमा हाङ्गा भएका रुख लगाउँदा दुर्घटनाको जोखिम हुने भएकाले त्यस्तो बिकल्प खोजिएको हो । तर सडक किनारमा भने ठाउँ पाएसम्म गुलमोहर रुख रोपिनेछ । ‘शितल पनि हुने र फुल पनि हुने भएकाले सडक किनारमा गुलमोहर लगाउनेकी भन्ने बिकल्पमा कुराकानी भइरहेको छ ।’– मन्त्री राईले भन्नुभयो । चर्को गर्मी हुने नेपालगन्जमा रुख रोप्दा शितल हुने अपेक्षा गरिएको छ । सडक बिस्तारका क्रममा भएका रुख पनि काट्नुपरेकाले नयाँ रुख नलगाई भएको छैन ।

बिरुवा रोप्दा समय लाग्ने भएकाले शुरुमै दशफिट बराबरको रुख रोप्न तयारी भइरहेको छ । यसका लागि ठुलो जनशक्तिको आवश्यकता पर्ने देखिन्छ । ड्रिल मेशिनको सहायतामा रुख रोप्ने कार्य हुने छ । पहिलो चरणमा मुख्य सडकमा रोपेपछि आगामी आर्थिकवर्षदेखि शहरको भित्री भागमा अभियान पुग्नेछ ।

प्रकाशित मितिः     ३ असार २०७६, मंगलवार १४:१४  |