उद्योग वाणिज्य संघमा कार्यसमितिको म्याद थप्ने की नथप्ने ? आज टुङ्गो लाग्दै



बाँके ४ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको आज बस्ने बैठकले बर्तमान कार्यसमितिको म्याद थप्ने की नथप्ने भन्ने बिषयमा टुङ्गो लगाउने भएको छ । दिउँसो तीन बजे बस्ने बैठकको मुख्य एजेण्डा आगामी निर्वाचन सम्बन्धमा रहेको महासचिव अजय टण्डनले जानकारी दिनुभयो ।

‘बैठकमा म्याद थप्ने वा नथप्ने भन्ने बिषयमा बृहद छलफल हुन्छ । के निर्णय हुन्छ पछि थाहा हुन्छ ।’–महासचिव टण्डनले भन्नुभयो । संघको बिधानमा अध्यक्ष लगायत कार्यसमितिको पदावधि निर्वाचन भएको मितिले तीन वर्षको हुने उल्लेख छ । त्यसबाहेक बिशेष परिस्थिती उत्पन्न भए एकपटकमा छ महिनाका लागि म्याद थप्न सकिने व्यवस्था छ । म्याद थप सम्बन्धी निर्णय कार्यसमितिको दुई तिहाई मतबाट गराउनुपर्छ ।

नन्दलाल बैश्य नेतृत्वको पदावधि भदौमा सकिदैछ । कार्यकाल सकिन दुई महिना पहिल्यै निर्वाचनका बारेमा निर्णय लिनुपर्ने भएकाले आज बैठक बस्न लागेको महासचिव टण्डनले जानकारी दिनुभयो । कार्यकाल थप्ने की नथप्ने भन्ने बिषयमा संघभित्र ध्रुबीकरण छ । कोषाध्यक्ष आदेश अग्रवालले ‘के त्यस्तो बिशेष परिस्थिती उत्पन्न हुन लागेका कारण’ म्याद थप्नुपर्ने हो भन्दै सार्वजनिकरुपमा प्रश्न गर्दै आएका छन् ।

तर म्याद थप्न नहुने पक्षमा पनि तीब्र लबिङ्ग छ । आजको बैठकमा अध्यक्ष बैश्य, महासचिव लगायतले मौसम, चाडपर्व, नविकरण लगायतको कारण म्याद थप्नुपर्ने बिषयमा कार्यसमितिलाई सहमत गराउने तयारी गरिरहेको स्रोतले बताएको छ ।

प्रकाशित मितिः     ४ असार २०७६, बुधबार १४:३१  |