प्रदेश नं. ५ : सबै स्थानीय तहमा बैंक पुग्ने पहिलो प्रदेश बन्यो


बाँके ५ असार : प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् । प्रदेश १ को ३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् भने प्रदेश २, ३ र गण्डकीको २।२, कर्णाली प्रदेशको १२ र सुदुर पश्चिम प्रदेशको ७ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ । १० महिनामा बैंक तथा वित्तीय संस्थाको १६६८ शाखा थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८३१९ पुगेको छ । गत असार मसान्तमा यस्तो संख्या ६६५१ थियो ।

कुल शाखामध्ये, सबैभन्दा धेरै लघुवित्तका छन् । तर, १० महिनामा शाखा वृद्धिदर भने विकास बैंकको उच्च देखिएको छ । वाणिज्य बैंकको शाखा ३०२३ बाट बढेर ३३६७ पुग्दा विकास बैंकको शाखा ९९३ बाट १२२९ पुगेको छ । फाइनान्स कम्पनीहरुको शाखा सबैभन्दा कम रहेको छ । १० महिनामा फाइनान्सहरुको शाखा १८६ बाट बढेर २०४ पुगेको छ । यता, लघुवित्त वित्तीय संस्थाको शाखा भने २४४९ बाट बढेर ३५१९ पुगेको छ ।

वैशाख मसान्तसम्ममा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । १० महिनामा एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनी घटेका छन् भने २६ वटा लघुवित्त र एउटा पूर्वाधार विकास बैंक थपिएर कुल बैंक तथा वित्तीय संस्थाको संख्या १७६ पुगेको छ । सरकारले सबै स्थानीय तहमा कम्तीमा पनि एक वाणिज्य बैंक पुर्याउने नीति लिएसँगै बैंकिङ पहुँच विस्तार पनि तीव्र गतिमा भएको छ । ७५३ मध्ये वैशाख मसान्तसम्मा ७२५ वटा स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलिसकेका छन् भने बाँकीमा पनि खोल्ने क्रममा रहेका छन् ।

प्रकाशित मितिः     ५ असार २०७६, बिहीबार १०:५४  |