आटामा भ्याट, चामलको क्वारेण्टाइनमा सरकारी अधिकारी नै असन्तुष्ट


नेपालगन्ज ६ असार : आटामा भ्याट लगाउने र चामलकोे क्वारेन्टाइन गर्नुपर्ने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकाय आन्तरिक राजश्व कार्यालय र नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नै असन्तुष्ट देखिएका छन् । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेलले आटामा लगाउने भनिएको भ्याट र नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले चामलको क्वारेण्टाइनका बिषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य ।

‘आटामा भ्याट लगाउने निती बनेको छ । यो व्यवहारिकरुपमा अनुपयुक्त छ ।’ आफ्नो व्यक्तिगत बिचार भन्दै पौडेलले भने–‘यसको कार्यान्वयन कसरी हुन्छ हेर्न बाँकी छ ।’ यद्यपी जस्तोसुकै निर्णय भएपनि आफुले सरकारी निती भने कार्यान्वयन गर्नै पर्ने उनले बताए । ‘व्यक्तिगतरुपमा आटामा भ्याट लगाउने निर्णयप्रति म सहमत छैन । तर यो संस्थागत निर्णय भएकाले सबैले मान्नैपर्छ ।’– पौडेलले भने ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले चामलको क्वारेण्टाइन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउँदै भने,–‘यो कुनै बोट, बिरुवा त होइन नी क्वारेण्टाइन गर्नुपर्ने ? लगेर पकाएर खाने हो । त्यही पनि किन हो क्वारेण्टाइन गर्न लगाईन्छ । ’ भन्सार प्रमुख निरौलाले चामलको क्वारेण्टाइन गर्नुपर्ने अवस्था हटाउन पहल भइरहेको जानकारी दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आटामा भ्याट हटाउने बिषयमा सरकारको ध्यानार्कषण गराएको बताएका छन् । त्यस्तै भन्सार र कर प्रणाली सरल बनाउन सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले भने,–‘व्यवसायी सबै कानून मान्न तयार छन् । तर त्यसको कार्यान्वयनपक्ष सरल र सहज बनाउनुपर्छ ।’

भन्सार जाँचपास परीक्षण कार्यालय, नेपालगन्ज भन्सार कार्यालय र नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायत ठुलो संख्यामा उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     ६ असार २०७६, शुक्रबार १४:४८  |