नेपालगन्जमै हुने भयो विषादीको जाँच, रोकिएका तरकारीका गाडी अब भित्रिने


विषादी परिक्षणका लागि नेपालगन्ज भन्सार कार्यालयमा नमुना संकलन हुँदै ।

नेपालगन्ज ८ असार : सरकारले विषादी जाँच अनिवार्य गरेपछि तरकारी र फलफुलका चार दर्जन बढि गाडी नेपालगन्ज नाकामा थन्किएका छन् । विषादी जाँच गराउन नसकेका ती गाडीहरु शनिबारदेखि भन्सारको यार्डमा थन्काएर राख्नुपरेको तरकारी र फलफुलको आयातकर्ता समिप टे«र्डसका हैदर अलिले जानकारी दिए ।

‘अचानक बिषादी जाँच प्रमाणपत्र माग गरियो ।’ हैदरले भने–‘ल्याउन नसकेपछि आधा जसो गाडी भन्सार यार्डमा त आधा गाडी रुपैडियामै थन्काएर राख्नुपरेको छ ।’ व्यवसायी हैदरका अनुसार तरकारी र फलफुल कुहिने सम्भावना बढेर गएको छ ।

केन्द्रीय निर्देशन भन्दै नेपालगन्ज भन्सार कार्यालयले बिषादी जाँचपास बिना तरकारी र फलफुलको आयातमा रोक लगाएको हो । प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भनसार बिभागबाट देशभरका भन्सार इकाईलाई प्राप्त निर्देशन यहाँ कार्यान्वयन गरिएको बताएका छन् ।

विषादी परिक्षण गर्ने कार्यालय भेटियो

बिषादी जाँच नगरी तरकारी र फलफुल आयात गर्न नपाएपछि व्यवसायीहरु चिन्तामा थिए । त्यस्तो परिक्षण गर्ने कार्यालय कहाँ छ भन्ने कसैलाई थाहा थिएन । लाखौंको तरकारी भन्सारमा आएर थन्किएको थियो । विषादी जाँच गर्ने कार्यालय कहाँ छ भन्दै स्वयं भन्सार प्रमुख, प्लान्ट क्वारेण्टाइनका कर्मचारी र व्यापारी दौडधुपमा लागे ।

‘सरकारले नै स्थापना गरेको विषादी दुर्त बिश्लेषण इकाई नेपालगन्जमा छ भन्ने पत्ता लाग्यो ।’ भन्सार प्रमुख निरौलाले भने–‘अब त्यो कार्यालयले विषादीरहित छ भन्ने प्रमाणित गरेको पत्र दियो भने तरकारी र फलफुल आयात हुन्छ ।’ भन्सार प्रमुख निरौलाले अब पहिले जस्तो जस्तोसुकै तरकारी आयात हुन नदिने स्पष्ट पारेका छन् ।

व्यवसायीहरु विषादी परिक्षण गर्ने कार्यालय यहाँ छैनकी भन्ने चिन्तामा थिए । तर यही कार्यालय भेटिएपछि राहात महसुस गरेका छन् । भन्सार प्रमुख निरौलाले विषादी दुर्त बिश्लेषण इकाईका बारेमा आफुले पनि बुझ्ने काम गरेको बताए । व्यवसायीहरुले आईतबार नै तरकारीको ‘स्याम्पल’ उक्त कार्यालयमा जाँच्न लगेका छन् । विषादी जाँच्ने कार्यालयका प्रमुख हुन, शकिल अहमद । उनले आईतबारबाटै परिक्षणको काम शुरु गरेका छन् । तर कर्मचारी अभाव भएकाले काम गर्न मुस्किल पर्ने उनले बताए ।

प्रकाशित मितिः     ८ असार २०७६, आईतवार १७:३७  |