बन्दै गरेको आईसिपीमा रहने सरकारी कार्यालयको बिवरण संकलन


नेपालगन्ज : नेपालगन्ज–रुपैडिया नाकामा निर्माण हुन लागेको एकिकृत भन्सार जाँचचौकीभित्र रहने सरकारी कार्यालयको पूर्वाधारको विवरण संकलन गर्न सुरु गरिएको छ । भन्सार कार्यालय, पशु तथा प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि जस्ता कार्यालयको भौतिक पूर्वाधार के कति आवश्यक पर्छ भन्ने बिषयमा विवरण संकलन भइरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्लान्ट क्वारेन्टाइनका एकजना कर्मचारीले बताए अनुसार, उक्त कार्यालयको पूर्वाधारका बिषयमा विवरण संकलन भइसकेको छ । त्यस्तै अन्त्य सरकारी कार्यालयको विवरण संकलन भई केन्द्रमा पठाईसकिएको छ । एकिकृत भन्सार जाँच चौकीभित्र रहने कार्यालयको विवरण संकलनसंगै एकिकृत भन्सार जाँचचौकीको निर्माणको कामले गति लने बिश्वास गरिएको छ ।
नेपाल तर्फबाट जग्गा अधिग्रहणलगायत काम भइसकेको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको २ हजार ७ सय मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी नर्गुपर्ने हो  ।

उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एकिकृत भन्सार जाँचचौकी निर्माणमा भारतीय पक्षले सोचे अनुरुप काम तिब्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन । ’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ’ अध्यक्ष वैश्यले भारतमा निर्वाचन सकिएकाले अब भने काम छिटो हुने अपेक्षा गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माणमा ढिलाई भैरहेको बताए । ‘मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउनका लागि पहल गर्न आवश्यक देखिएको छ’, उनले भने, हामि बारम्बार छलफल गरीरहेका छौ ।

प्रकाशित मितिः     १० असार २०७६, मंगलवार १०:३६  |