नेपालगन्ज १० असार : नेपालगन्ज उपमहानगरपालिकाको पाँचौ नगरसभामा नगर प्रमुख डा. धवल शमसेर राणाले आ.व २०७६ /०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आज भेरी प्राविधिक शिक्षालयमा भइरहेको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर राणाले ‘स्मार्ट’ नेपालगन्ज बनाउन सहकार्यमा जोड दिनुभयो । दुई वर्षको अवधिमा सबैबाट सहयोग पाएको भन्दै मेयर राणाले कसैप्रति गुनासो र आलोचना गर्नुभएन ।
मेयर राणाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङ्ग सहित सपिङ्ग कम्पलेक्स बनाउने बिषयलाई प्राथमिकता दिईएको छ । वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल बनिसकेपछि नगरभवमा ‘हाई राईज पार्किङ्ग’ सुविधा सहितको सपिङ्ग कम्पलेक्स बनाउने उल्लेख छ ।
यस्तै डिपिआर निर्माणको क्रममा रहेको बागेश्वरी कम्पलेक्स तीन वर्षभित्र बनाइसक्ने लक्ष्य निर्धारण गरिएको छ । हाल बनेको बसपार्क एक महिनाभित्र सन्चालन गर्ने तयारी भएको छ । फुटपाथको उचित व्यवस्थापन गरिने बिषयलाई प्राथमिकताका सथा उठान गरिएको छ । नीति तथा कार्यक्रममा नेपालगन्जलाई आर्थिक तथा पर्यटन प्रर्वद्धन गर्नका लागि नगरक्षेत्र भित्र क्यासिनो स्थापना तथा सन्चालनमा प्रोत्साहन गर्ने बिषयलाई प्राथमिकताका साथ उठान गरिएको छ ।