बाँके ११ असार : नेपालगन्ज प्रवेश गर्ने जमुनाह नाकाको दशगजाक्षेत्र ‘पोखरी’ र ‘डम्पिङ्ग साईट’ मा परिणत भएको छ । दशगजा भन्दै नेपाल–भारततर्फ दुबै देशका सरोकारवाला निकायले सुधार गर्न कुनै चासो दिएका छैनन् । नेपालगन्जमा पश्चिम नेपालको आर्थिक र पर्यटकिय हबका रुपमा विकास गर्न भारतीय पर्यटक भित्रा्उने बहस चलिरहँदा जमुनाह नाकाको प्रवेशद्धार भने दिनदिनै दुर्गन्धित बन्दै गएको छ । उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने जोकोहीले फोहोर देखेर उदेक मान्छन । नाक धुनेर आवात–जावत गर्नुपर्ने अवस्था छ ।
प्रवेशद्धारको पश्चितिरको भागमा नेपालगन्ज उपमहानगरपालिकाको फोहोर फ्क्याने ठाउँ बनाईएको छ । फोहोर बोक्ने ट्याक्टरले नियमितरुपमा दशगजामै फोहोर राख्ने गरेको जमुनास्थित प्रहरी बताउँछन् । मंगलबार बिहानै दशगजामा फोहोर फाल्न गएको ट्याक्टरलाई प्रहरीले रोकेर फिर्ता पठाईदिएको थियो । त्यस्तै पूर्वतिरको भाग पानी जमेर तलाउमा परिणत भएको छ । सशस्त्र प्रहरी बल महेन्द्रनगरका प्रमुख भेषबहादुर शाहले प्रवेशद्धारलाई सफा र शुन्दर बनाउन आवश्यक रहेको बताए । शाहकै आग्रहमा मंगलबार दशगजामा सरसफाई गरियो । शाह भन्छन्,–‘हामीले जति सक्यौ त्यति गरेका थियौ । अझ सरसफाई गर्न बाँकी नै छ ।’ नेपालगन्ज उपमहानगरपालिकाले यतिबेला शहरमा सरसफाई अभियान चलाइरहेको छ । उक्त कार्यक्रमलाई प्रवेशद्धारसम्म लैजान जरुरी रहेको छ ।
उपमहानगरले प्रवेशद्धारको सफाईमा ध्यान नदिएको भने होइन । प्रवेशद्धारलाई आर्कषक बनाउने काम पनि गरेको थियो । तर अहिले दुर्गन्धित बनेको छ । जमुनाह नाका पश्चिम नेपालका लागि अति नै महत्व राख्ने भएकाले यसलाई सुधार गर्न नेपाललै नै अगुवाई गर्नुपर्नेमा जोड दिईएको छ । दशगजा मात्र होइन नेपाल प्रवेश गरिसकेपछिको अवस्था पनि उदेक लाग्दो छ । भन्सारको यार्ड अगाडीको सडक ढाकेर रिक्सा पार्क गर्दा आवात जावतमा कठिनाई भइरहेको छ । नेपाल भन्सार प्रमुख शान्तिराम निरौलाले जतिसुकै प्रयास गर्दा पनि रिक्साको जथाभावी पार्किगं रोकन नसकिएको बताए ।