नेपालगन्ज : झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडले बिशेष साधारणसभा बोलाएको छ । उक्त सहकारीमा कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ। ५२ करोड अधिकतम् पूँजी रहेको सहकारीको झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदनमा छ । यो रकम अझै बढ्ने सम्भावना छ।
जिल्ला सहकारीका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा विगतको २६ करोडमा थप १२ करोड रुपैयाँ अपचलन भएको देखाएको छ। बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त सहकारीले असार २१ गते भेरी प्राविधिक शिक्षालयमा बिशेष साधारणसभा बोलाएको हो ।
सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडी बढाउने भन्ने मुख्य एजेण्डा बनाएर बिशेष साधारणसभा बोलाएको जानकारी दिए । पैसा पाउने आशामा सकारी पीडितहरु दैनिक सहकारीको कार्यालय अगाडी जाने गर्छन । कतिपयले थोरै मात्र रकम फिर्ता भएका छन् । पछि काम लाग्दा भनेर दिनदिनै जम्मा गरेको पैसा सहकारी सन्चालन गर्नेहरुले अपचलन गरेपछि पीडितहरु तनावमा छन् । अहिले बिहानैदेखि सहकारी पीडितको भिड कार्यालय अगाडी देख्न सकिन्छ ।