नेपालगन्ज ११ असार : नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र नक्सा पास नगरी भौतिक संरचना निर्माण गरेका घरधनीलाई नक्सा प्रमाणित गर्न एकपटक अवसर दिने भएको छ । त्यस्तो अवसर पाउन भने बनेका संरचना मापदण्ड पुरा गरेको हुनुपर्नेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको पाँचौ नगरसभामा प्रस्तुत बजेट वक्तव्यमा नक्सापास नगरी संरचना तयार गरेका र संरचना निर्माणका लागि अनुमति लिएर तोकिएको समयमा संरचना नबनाउनेलाई कम्तिमा एकपटकका लागि नक्सा प्रमाणित गर्न लाग्ने दस्तुरमा बिशेष छुट दिने प्रस्ताव गरिएको छ ।
नगरपालिकाबाट नक्सा पास नगरी संरचना निर्माण गरिएका घरधनीहरुलाई तोकिएको मापदण्ड भित्र पर्ने भए प्राविधिक कर्मचारीको स्थलगत अवलोकन पश्चात नक्सा प्रमाणित गर्ने र त्यसका लागि दस्तुरमा छुट दिने प्रस्ताव गरिएको छ ।