नेपालगन्ज १२ असार : नेपालगन्जमा खुलेका स्वदेशी लगानीका तारे होटलमा भारतीय व्यवस्थापनको बर्चश्व हुन थालेको छ । प्रमुख तीन वटा होटलहरु सिग्नेट, कलपत्रु र स्नेहा अहिले भारतीय व्यवस्थापन समूहले सम्हालिरहेका छन् । ख्यातीप्राप्त बिदेशी होटल चेन समूहको रोजाईमा नेपालगन्ज परेपछि आगामी दिनमा यसको संख्या अझ बढ्ने निश्चित छ ।
पश्चिम नेपालको पर्यटन व्यवसायको मुख्य गन्त्व्यका रुपमा रहेको नेपालगन्जमा बिदेशी होटल चेन समुहले होटलमा लगानी गरेका छन् । भइरहेका छन् । अन्य होटलहरु समेत यसै गरी लगानी हुने क्रम बढेको छ । भारतमा मुख्यालय रहेको क्लार्क्स होटल ग्रुपले भवानी राणाको तारे होटल स्नेहासँग व्यवसायीक साझेदारी गरेको छ । यतिबेला उक्त होटलको व्यवस्थापन भारतीय समूहले सम्हालिरहेको छ । नेपालगन्जका होटल व्यवसायी सीताराम यादवले विदेशी होटल समूह लगानी सहित आउनु स्वागतयोग्य भएपनि रणनीतिक साझेदारको रुपमा मात्र भित्रिनु मुलुकको हितमा नहुने टिप्पणी गर्छन । उनी भन्छन्, ‘पर्यटन व्यवसायमा ब्राण्ड फ्रेन्चाइज मात्र ल्याएर पछि यहाँको पैसा विदेश पठाउनु हाम्रो हितमा हुँदैन ।‘
इकोनोमिक क्लासलाई लक्षित गरेर नेपाल प्रवेश गरेको भारतीय होटल संजाल ओयोले बिजनेश क्लासलाई लक्षित गर्दै वीरगंज,विराटनगर, नेपालगंज, बुटवल, भैरहवा, इटहरी, धरान, चितवनमा सेवा बिस्तार गर्ने तयारी गरेको छ । ओयोले होटल प्रवर्द्धनमा सहयोग गरेवापत आफ्नो साझेदार होटलले प्राप्त गर्ने रकमबाट ’कमिशन’ रकम कट्टा गरेर बाँकी रकम भूक्तानी दिने गरेको छ ।
भारतीय व्यवस्थापनमा चलिरहेका होटलहरु कति सफल छन् भन्ने बिषयमा चर्चा हुने गरेको छ । होटल स्नेहाको व्यवस्थापन सम्हालिरहेको क्लार्कस समूहका व्यवस्थापक तोरबन घोस नेपालमा धेरै होटलको व्यवस्थापन भारतीय समूहले सम्हालिरहेको बताउँछन् । उनी भन्छन्,–‘राजधानी काठमाण्डौंका अधिकांस ठुला होटलमा भारतीय समूह नै छ । मलाई लाग्छ सबै जसो सफल छन् ।’ उनले भारतीय व्यवस्थापन रहेका नेपालगन्जका होटल पनि सफल हुने बताए ।
भारतीय व्यवस्थापनसंगको सहकार्य गर्दा नेपाल भारत पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिने लगानीकर्ताको अपेक्षा छ । भारतीय पर्यटकलाई नेपाल भित्रा्उन अपनाइने रणनीतिले यहाँकै होटललाई फाईदा पुग्ने अपेक्षा गरिएको छ ।