अन्य स्थानीय तहसंग ‘कनेक्टिभिटी’ बढाउन सातवटा बस चलाउँदै नेपालगन्ज उपमहानगर


नेपालगन्ज १३ असार :  नेपालगन्ज उपमहानगरपालिकाले जिल्लाका अन्य स्थानीय तहसंग यातायातको ‘कनेक्टिभिटी’ बिस्तार गर्ने योजना अघि सारेको छ । त्यसका लागि आ.व भित्र सातवटा बस सन्चालन गरिने उप–मेयर उमा थापामगरले जानकारी दिनुभयो ।

‘नेपालगन्ज र अन्य सबै जसो स्थानीय तहसंग सोझो यातायात सम्पर्क होस् भन्ने उदेश्य राखेर काम गरिरहेका छौं ।’ उप–मेयर थापाले भन्नुभयो–‘आ.वमा यसको काम सुरु हुन्छ ।’ उपमहानगरपालिकाले सातवटा बस सन्चालनका लागि बिभिन्न कम्पनीसंग छलफल चलाएको छ । उक्त बसमा भएसम्म चालक, सह–चालकदेखि अन्य सबै कर्मचारी महिलालाई प्राथमिकता दिइने मेयर डा. धवल शमसेर राणाले पाँचौ नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘सातवटा बस सन्चालन गरिने छ । जसमा महिला,लक्षित वर्ग तथा विपन्न वर्गलाई रोजजगारीको लागि प्राथमिकता दिइने छ ।’ मेयर राणाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा भनिएको छ,–‘ बस सन्चानलबाट उपमहानगरपालिका र अन्य पालिका बिच कनेक्टिभिटि बढाईनेछ ।’

नेपालगन्ज उपमहानगरले सन्चालन गर्ने बस सेवामा राख्ने महिला कर्मचारीका लागि तालिम सन्चालन भइरहेको छ । दुई दर्जन बढि महिलालाई प्रशिक्षण दिने काम भइरहेको छ । सम्भव भएसम्म तालिम लिएकै महिलालाई रोजगारी दिने उपमहानगरको योजना छ ।

प्रकाशित मितिः     १३ असार २०७६, शुक्रबार ०७:२३  |