नेपालगन्ज : भारतबाट आउने तरकारीको विषादी परीक्षण गरेरमात्र भित्रिन दिने नीति सरकारले अवलम्बन गरेपछि नेपालगन्जमा तरकारी महंगो भएको छ । विषादी परीक्ष गराउन असहज भएपछि एक ढिलो गरिमात्र तरकारी नेपालगन्ज आउने गरेको तरकारी ब्यापारी हाजी हैदर अलीले बताए । उनले ढिलोगरि तरकारी नेपालगन्ज आउँदा कुहिने र सड्ने भएकोले थोक तरकारी ब्यापारीले खुद्रा ब्यापारीलाई महंगोमा दिन थालेपछि तरकारीको भाउ महंगो भएको हो ।
यसअघि प्रति किलो एक रुपैयाँमा विक्री हुँदै आएको आलु एक सय ६० रुपैयाँ प्रति केजीका दरले विक्री हुन थालेको छ । एक दिन ढिलो हुँदा गाडी भाडा बढि लाग्ने बताउँदै उनले कुहिएको र सडेगलेको घाटा पनि ग्राहकबाट उठाउँदै आएको बताए । ‘घाटा खाएर विक्री गर्ने कुरा हुँदैन, ढुवानी भाडा र सडेगलेको तरकारी पनि विक्री मूल्यमा जोडिन्छ,’ उनले भने । उनले अन्य तरकारीमा पनि १०–१५ रुपैयाँले बृद्धि भएको जानकारी दिए । थोक मूल्यमा बृद्धि भएपछि खुद्रा तरकारी ब्यापारीले पनि मूल्य बढाएका छन् । सरकारले विषादी परीक्षण गरेरमात्र भारतबाट तरकारी भित्रिन दिने नीति अवलम्बन गरेपछि स्वस्फूर्त भित्रिने तरकारीका गाडी भन्सारमा रोकिने गरेका छन् ।
भारतबाट तरकारीको गाडी भित्र्याउन साह्रै गाह्रो भएको रियाज अन्सारीले बताए । उनले विषादी छ, छैन भन्ने प्रमाणपत्र ल्याउन एक दिन लाग्ने गरेको गुनासो गरे । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले विषादी जाँच प्रमाणपत्र दिन ढिलो गरेको बताउँदै उनले तरकारी भित्र्याउन हम्मे–हम्मे परेको बताए । ‘एक ट्रक तरकारी ल्याउन एक जनालाई एक दिन लाग्छ,’ उनले भने, ‘दिनमा १०–१२ ट्रक ल्याउनेलाई झन कस्तो भएको होला ।’
तरकारी आयात सहज नभए ठप्प पार्ने चेतावनी
नेपालगन्ज नाका भएर आउने तरकारी काठमाडौँ, नारायणघाट, गुल्मी, पाल्पा, बुटवल, सुर्खेत, दाङसम्म जाने गरेको छ । एक दिनमै नारायणघाट पुग्ने गरेको तरकारी अहिले चार दिन लाग्ने गरेको नारायणघाटका तरकारी ब्यापारी सञ्जय गुप्ताले बताए । उनले ढिलोगरि तरकारी पुग्दा १५–२० प्रतिशत तरकारी कुहिने गरेको बताए ।
ढिलोगरि तरकारी पुग्दा बाटोमा लाग्ने खर्च पनि तरकारीमा जोडिने गरेको बताए । ‘ग्राहकको माग बमोजिम तरकारी नेपालगन्जबाट आइरहेको छैन,’ तरकारी ब्यापारी गुप्ताले भने ।
भारतबाट तरकारी ल्याउन सहज नभए तरकारी ब्यापारीले तरकारी ठप्प पार्ने चेतावनी दिएका छन् । नेपालगन्जका थोक तरकारी ब्यापारी हैदर अलिले तरकारी आयातलाई सहज नबनाए तरकारी विक्री वितरण ठप्प बनाउने बताए । ‘असहज परिस्थितिमा तरकारी विक्री गर्न सकिदैन, सहज बनाएन भने तरकारी विक्री वितरण ठप्प बनाउँछौँ,’ हैदरले भने ।
नेपालगन्ज नाकाबाट दैनिक ७० लाखको तरकारी भित्रिन्छ
नेपालगन्ज नाका भएर दैनिक सरदर ७० लाख रुपैयाँको तरकारी आउने गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले दैनिक ५०–६० ट्रक तरकारी नेपालगन्ज नाकाबाट भित्रिने गरेको बताए ।
चालू आर्थिक बर्षको जेठ मसान्तसम्म दुई अर्व ३२ करोड ५२ लाख पाँच हजार ५५२ रुपैयाँको तरकारी नेपालगन्ज नाकाबाट भित्रिएको उनले बताए । ‘भन्सार कार्यालयको रेकर्ड अनुसार दैनिक सरदर ७० लाखको तरकारी नेपालगन्ज नाकाबाट भित्रिने गरेको देखिन्छ,’ उनले भने ।
उनले सरकारको नीति र निर्देशन बमोजिम विषादी जाँच गरेको रिपोर्टको आधारमा तरकारी बोकेका गाडी छोड्ने गरेको बताए । विषादी जाँच गर्ने प्रक्रिया झन्झटिलो र सहज नभएकोले दैनिक १२–१५ गाडी नाकामा रोकिने गरेको बताए । ‘एक दिन कुर्नुपर्ने बाध्यता ब्यापारीलाई छ,’ उनले भने ।
पर्याप्त कर्मचारी नहुँदा परीक्षणमा समस्या
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा दैनिक ५०–६० वटा गाडीको विषादी जाँच गराउन आउने गरेको इकाईका प्रमुख शकिल अहमदले जानकारी दिए । उनी कृषि ज्ञान केन्द्र, नेपालगन्जका बाली संरक्षण अधिकृत हुन् । दुई वटा कार्यालयको काम गर्नुपर्ने भएकोले उनले चाहे जति परीक्षण गर्न नसकेको बताए ।
कृषि ज्ञान केन्द्र र प्रयोगशालाको काम सँगसँगै गर्नुपर्ने भएकोले परीक्षण गर्न ल्याएका तरकारी फिर्ता पठाउने गरेको उनले बताए ।
प्रयोगशालामा चार जना कर्मचारी आवश्यक पर्ने बताउँदै उनले कर्मचारीको ब्यवस्था नभए काम गर्न नसक्ने स्पष्ट पारे । एक जनाले दैनिक ५०–६० वटा ट्रकमा भएको तरकारीको परीक्षण गर्न सम्भव नभएको उनको भनाई छ । ‘केहि दिनका लागि गर्न सकिए पनि सधैँ यसरी काम गर्न सकिदैन,’ उनले भने, ‘कर्मचारीको ब्यवस्था नभए परीक्षण गर्ने काम बन्द गरेर हिड्छु ।’
उनले अहिलेसम्म परीक्षण गरेको तरकारीमा विषादीको मात्रा सन्तोषजनक भएको बताए । उनले बेमौसमी तरकारीमा विषादीको मात्रा धेरै हुने गरेको बताउँदै प्याज र आलूमा विषादीको मात्रा न्यून भएको बताए । ‘अहिलेसम्म मानव स्वास्थ्यमा असर पर्ने विषादी फेला परेको छैन,’ उनले भने ।