दुई दशक गैससमा बिताएका प्रभातसिंह ठकुरीको डेरी उद्योग यात्रा


डेरी उद्योग देखाउँदै ठकुरी ।                                                                                                                                            तस्वीर : सोम गुरुङ्ग

नेपालगन्ज १५ असार : प्रभातसिंह ठकुरीले दुई दशक भन्दा धेरै समय गैर सरकारी संस्थाहरुमा बिताए । २०४७ सालदेखि उनको गैसस आन्दोलनको यात्रा शुरु भएको थियो । यूनेस्को क्लब बाँकेदेखि बहुमुखी सेवा केन्द्रसम्म आईपुग्दा गाउँ–गाउँ पुगेर जनताको जिविकोपार्जन माथि उकास्न बिभिन्न कार्यक्रम चलाए । यसरी काम गर्दै जाँदा दुई दशकको अवधिमा ठकुरीको नाम बाँकेको गैैसस आन्दोलनमा परिचित भइसकेको थियो । उनी गैर सरकारी सस्था महासंघको नेता भए ।

तर अब भने ठकुरीको परिचय फेरिएको छ । उनी मदर डेरी प्रोडक्सन उद्योग सन्चालन भएका छन् । साँझ, बिहान कर्मचारीसंगै दुध प्रशोधन केन्द्रमा काममा खटिएका भेटिन्छन् । सेवाग्राहीलाई गुणस्तरीय दुध तथा दुधजन्य सामाग्री पुर्याउन लागिपरेका हुन्छन् । ‘हिजो पनि सेवा नै गरिन्थ्यो अहिले पनि सेवा नै गरिरहेको छु । यसवापत दुई चार पैसा मुनाफा भए राम्रै भइहाल्यो ।’– ठकुरी भन्छन् ।

कसरी शुरु गरे डेरी उद्योग ?

प्रभातसिंह ठकुरीले गैससमा लाग्दा सर्बसाधारणको जिविकोपार्जनका लागि बाख्रा बितरण कार्यक्रम चलाउँथे । ती कार्यक्रम गर्दा यो व्यवसायको सम्भावना र चुनौतीका बारेमा नजिकबाट नियाल्ने मौका पाए । ‘कार्यक्रम गर्दा यो आफै किन नगर्ने भन्ने सोंच पलायो’– ठकुरीले भने । उपभोक्ता हित संरक्षण मन्चका सचिव समेत रहेका उनले बजार अनुगमनका क्रममा दुषित दुध बिक्री भएको पाए । नेपालगन्जमा गुणस्तरिय दुध बिक्री, बितरण गर्नुपर्ने आवश्यक महसुस भएपछि उनले २०७३ मा मदर डेरी उद्योग सन्चालन गरे ।

धम्बोझीमा उनको आफै घर र जग्गा थियो । त्यसैले जग्गा भाडामा लिनु परेन । तर अत्याधुनिक प्रविधि सहितको प्रशोधन केन्द्र स्थापना गर्दा पैसा लाग्ने देखियो । रु १५ लाख लाग्ने अनुमान सहित काम शुरु गरे । तर अह ! पूर्वाधार त तयार भयो तर किसानबाट दुध ल्याएर बजारमा पठाउन थप पैसा आवश्यक पर्यो । १५ लाखमा भैहाल्छ भनेर शुरु गरेको उद्योगमा ४५ लाख लगानी गर्नुपर्यो । ठकुरी भन्छन्,–‘जतिसुकै लगानी बढेपनि हतोत्साहित भएन । काम गरिरहे ।’

उद्योग ‘रन’ हुँदा दैनिक डेडसय लिटर दुध बजार पठाउँथे । नयाँ भएकाले खरिद गर्नेको संख्या नै कम थियो । धेरै सहकर्मीले ‘सक्दैनस् भन्नसम्म भ्याए’ । तर पनि ठकुरी निरास भएनन् । उनी काममा लागिरहे । सेवाग्राहीको मन जित्दै गए । आज डेढ सयबाट शुरु भएको मदरडेरीले दैनिक छ सय लिटरसम्म बिक्री गरिरहेको छ । ‘ धेरै कुरा गर्न बाँकी छ तर अहिलेसम्मको नतिजादेखि सन्तुष्ट छु । ’– ठकुरीले भने ।

चुनौती

खुल्लारुपमा बिक्री गरिने दुध सबैभन्दा चुनौतीपुर्ण रहेको ठकुरी बताउँछन् । प्रशोधन गरेर गुणस्स्तरिय बनाईएको दुध भन्दा खाली बिक्री गर्ने दुध अति नै सस्तो पर्छ । उपभोक्ता पनि गुणस्तरको ख्याल नगरी सस्तो दुध प्रयोग गर्छन । जसले गर्दा मदरडेरी जस्ता प्रशोधन केन्द्रलाई मर्का परेको छ । सरकारले खुल्ला दुध बिक्री बितरणमा रोक लगाउँन कार्यििबधि पारित गरेको छ । तर त्यो कार्यान्वयन नहुँदा ठकुरी निरास छन् । यतिका लगानी गरेर बजार नपाउने हो भने सबै डेरी उद्योग बन्द हुन सक्ने उनको चिन्ता छ । त्यस्तै डेरी उद्योगलाई राज्यका निकायबाट पूर्ण सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उनी बताउँछन् ।

मदर डेरीमा के–के उत्पादन हुन्छ ?

यहाँ दुध,दही, पनिर, घिउ आदी उत्पादन हुन्छन । आगामी दिनमा उत्पादनमा बढोत्तरी गर्ने योजना बनिरहेको छ । तर त्यसका लागि बजारको सम्भावनालाई हेरिने छ ।

पाँच जनालाई रोजगारी

मदर डेरीमा अहिले पाँच जनाले रोजगारी पाइरहेका छन् । त्यस बाहेक कयौं पशुपालकहरु यहाँ जोडिएका छन् । ठकुरी भन्छन्,–‘पाँच जनालाई रोजगारी दिएको छ । म यही काममा व्यस्त छु । सन्तुष्ट भनेकै यही हो । सबै कुराले साथ दिए यसलाई अझ बढाउने योजना बनाइरहेको छु ।’

प्रकाशित मितिः     १५ असार २०७६, आईतवार १५:४८  |