नेपालगन्ज १६ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित माझी प्रोडक्सनलाई यतिबेला कागजका झोला उत्पादन गर्न भ्याई–नभ्याई छ । यो यसक्षेत्रकै पहिलो कागजको झोला उत्पादन गर्ने उद्योग हो । नेपालगन्जमा प्लाष्टिकमुक्त अभियान चलाएसंगै माझी प्रोडक्सनमा कागजको झोलाको माग अत्याधिक बढेको छ ।
उद्योग स्थापनाको छोटो समयमै कागजको झोला खरिद गर्न आउनेहरुको संख्या बढेको माझी प्रोडक्सनका प्रबन्धक मदनराज भटट्ले जानकारी दिए । उनले भने,–‘हामीले अपेक्षा गरे भन्दा राम्रो रेस्पोन्स पाएकाछौं । आगामी दिनमा माग अझै बढ्ने अपेक्षा गरेका छौं ।’ प्लाष्टिकका झोला प्रयोग अत्याधिक हुने शहरमा कगजको झोला प्रयोगमा ल्याउनु निकै चुनौतीपूर्ण भएपनि नेपालगन्ज उपमहानगरपालिका स्वयंले यसलाई अभियानकै रुपमा लिएपछि माझी प्रोडक्सनलाई आफ्नो उत्पादन बिक्री बितरणमा समस्या छैन ।
‘स्वास्थ्यका लागि पनि राम्रो र सस्तोमै पाइने भएपछि प्लाष्टिकको झोला कसैले प्रयोग गदैन । हामीले अझै यि कुरा बुझाउन जरुरी छ ।’– बसन्त माझीले भने । उनले प्लाष्टिकको झोला भन्दा सस्तो कागजको झोला पर्ने बताए । माझीले अभियानकै रुपमा यसलाई लैजानुपर्नेमा जोड दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघ, महिला उद्यमी संघ लगायतका सामाजिक संघसंस्थाले प्लाष्टिकमुक्त नेपालगन्ज बनाउने अभियानमासाथ दिइरहेका छन् ।
माझी प्रोडक्सनमा बिभिन्न साईजको र बिभिन्न गुणस्तरका कागजका झोला पाईन्छ । सेवाग्राहीले चाहे जस्तो र चाहेको मुल्यमा कागज झोला किन्न पाउँने छन् । व्यक्तिगतसंगै बिभिन्न संघसंस्था, होटल,रेष्टुरेण्ट, सपिङ्ग पसल लगायतले प्याकेजिङ्गंको कामका लागि कागजको झोला प्रयोग गरिरहेका छन् । ‘प्लाष्टिकको भन्दा सस्तो पनि र प्रयोग गर्दा स्वास्थ्यलाई पनि फाईदा हुने भएपछि कागजकै झोला किनौं भन्नेहरु बढेकाछन् ।’– माझी प्रोडक्सनका प्रबन्धक मदनराज भटट्राईले भने ।