आर्थिक गणनाको प्रतिवेदन : बाँकेमा १८ हजार उद्योग-व्यवसाय, ६५ हजारलाई रोजगारी


नेपालगन्जको भिएमआई समूहको बिजय मेटलमा कार्यरत कर्मचारी । तस्वीर ः भिएमआई समूहको वेयभसाईडबाट ।

नेपालगन्ज १७ असार : बाँकेमा हालम्म साना –ठूला गरी १८ हजार ६ सय ६६ उद्योग व्यवसाय सञ्चालनमा रहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । सरकारले पहिलोपटक गरेको राष्ट्रिय आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गर्दै विभागले बाँकेमा रहेका १८ हजार ६ सय ६६ उद्योग व्यवसायमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएको उल्लेख गरेको छ ।

रोजगारी पाउनेमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ४९ जना महिला रहेका छन् । त्यस्तै बर्दियामा १४ हजार ८ सय ९३ प्रतिष्ठानमा ४० हजार ७ सय १४ जनाले रोजगारी पाएका छन् । बाँके जिल्लामा पछिल्लो समय साना ठूला उद्योग, कलकारखाना खुल्ने क्रम बढेको छ । जसले गर्दा रोजगारी थपिदै छ । तथ्यांक विभागका अनुसार देशभरमा ९ लाखभन्दा बढी प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेको देखाएको छ । ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४ सय ५७ रोजगारी सिर्जना गरेका छन् । कुल रोजगारमध्ये पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ र महिलाको संख्या १२ लाख १६ हजार २२० रहेको छ ।

तथ्यांक अनुसार आर्थिक क्रियाकलापमा क्रमशः महिलाको नेतृत्व बढ्दै गएको छ । अहिले रहेका कूल आर्थिक प्रतिष्ठानमध्ये २ लाख ७३ हजार ४ सय ६३ प्रतिष्ठान महिलाको नाममा दर्ता छन् । पुरुषको नाममा भने ६ लाख ४८ हजार ७ सय ७३ वटा छन् । ३० देखि ४० वर्ष उमेर समूहका व्यक्तिले सबैभन्दा धेरै आर्थिक प्रतिष्ठान चलाएका छन् ।

गणनाको नतिजा अनुसार आर्थिक क्रियाकलापमा संलग्न ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानमध्ये साना व्यापारीको संख्या ५३.९४ प्रतिशत रहेको छ । देशभर १ लाखभन्दा बढी उद्योग रहेका छन् । केन्द्रिय तथ्यांक बिभागमार्फत गरिएको सर्वेक्षणअनुसार औद्योगिक उत्पादन गर्ने आर्थिक प्रतिष्ठानको संख्या १ लाख ४ हजार ५८ रहेको छ । आवास सुविधा तथा खानाको सुविधा उपलब्ध गराउनेगरी देशभर १ लाख ३० हजारको संख्यामा होटेल, रेष्टुरेन्ट र लजहरु खुलेको तथ्यांकले देखाएको छ ।

विभागले यस गणनाबाट सरकारले पहिलो पटक इ-सर्वेक्षणको पनि शुरुवात गरेको छ । अनलाइन प्रणालीका माध्यमबाट आफ्नो विवरण भर्न सक्ने गरी विभागले व्यवस्था मिलाएको थियो । यसबाहेक विभागबाट खटिएका गणकहरु आर्थिक क्रियाकलाप भइरहेकै स्थानमा पुगेर विवरण संकलन गरेका थिए । सरकारले १ वैशाख २०७५ देखि ३१ जेठसम्म देशभर आर्थिक गणना गरेको थियो । पहिलो पटक गरिएको यस्तो गणनाका लागि विभागले ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेको थियो । देशभर सञ्चालनमा रहेका आर्थिक प्रतिष्ठानको संख्या यकिन गर्ने उद्देश्यले पहिलो पटक यस्तो गणना गरिएको हो । यस गणनाबाट देशमा आर्थिक तथ्यांकको आधार खडा भएको विभागले उल्लेख गरेको छ ।

प्रकाशित मितिः     १७ असार २०७६, मंगलवार ०८:५७  |