नेपालगञ्ज १७ असार : नेपालगञ्ज नगरको मध्य भागमा रहेको रानीतलाउमा तीन महिनाको अवधिमा टिकट काटेर मात्र ४२ हजार दर्शकले अवलोकन गरेका छन् । नेपालगञ्ज उपमहानगरको आन्तरिक पर्यटकका लागि मनोरञ्जनको स्थल बनेको छ । वडा कार्यालय मार्फत सन्चालन हुँदै आएको रानीतलाउ तीन महिना अघिदेखि ठेकेदारको जिम्मा दिइएको थियो । सो अवधिमा टिकट काटेर ४२ हजारले रानीतलाउ अवलोकन गरेको ठेकेदार मो.मुमताज शेषले जानकारी दिए ।
‘यो त टिकट काटेर हेर्ने दर्शकको संख्या मात्र हो । टिकट नकाटेर आउनेको संख्या जोड्ने हो भने ५० हजार बढि हुन्छ ।’ शेषले भने–‘जनशक्तिको अभावमा टिकट नकाटेर आउनेलाई रोक्न सकेका छैनौ ।’ रानीतलाउ अवलोकनका लागि पाँच रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकट नकाटेर भित्र पसे दुई सय जरिवाना तोकिएको छ ।
गर्मीको बेला तलाउको वरिपरि बगैंचामा घुम्न र नेपालगन्जको गर्मीमा शीतलताका लागि आउने पनि थुप्रै छन् । बिदाका दिनमा बालबालिका तथा युवायुवती तलाउ वरिपरिको बगैंचामा र डुंगामा चढेर रमाइरहेका हुन्छन् । शनिबार र बिदाका दिन सबैभन्दा धेरै भिड हुन्छ । कुनै दिनमा एकै दिनमा एक हजारले अवलोकन गर्ने गर्छन । साँझपख टहल्न र बिहान मर्निङ्गवाक गर्न आउनेको संख्या पनि धेरै रहेको शेषले जानकारी दिए ।
रानीतलाउमा डुंगा चल्न थालेपछि नेपालगञ्जबासीले रानीतलाउलाई मनोरञ्जन लिने स्थलका रूपमा लिन थालेका छन् । यहाँ नेपालगञ्ज बजार र बाहिरबाट समेत दैनिक सयौं मनिस आउने गर्दछन् । रानीतलाउमा डुंगा चल्न थालेपछि पर्यटकहरू घुम्न आउन थालेका हुन् ।
रानीतलाउका वरिपरि खेल्नका लागि सुन्दर बगैंचा समेत बनाइएकाले बालबालिकाहरू खेल्न र घुम्न आउने गर्छन् । जसले रानीतलाउको सुन्दरता बढाएको छ भने बालकहरूले रमाउने र बिदाका दिन रमाइलो गर्ने ठाउँ पाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणा रानीतलाउको इतिहास नेपालगञ्जको इतिहाससँग जोडिएकाले पनि यसको संरक्षण गरिएको बताउँछन् ।
राणा भन्छन, “मैले पहिलो कार्यकालमा यो रानीतलाउ पुनर्निर्माण गराएको थिएँ । बीचमा भत्कियो, अहिले यो बोटिङ विहार भएको छ । यहाँ एउटा रानीको मूर्ति राख्न लागेका छौं । चारैतिर मूर्ति राख्ने योजना छ ।“ मुर्ती निर्माणको काम लगभग सकिएको छ । पानीको बिच भागमा राखिएको फोहोराले झनै आर्कषक बनाएको छ । अहिले नेपालगञ्जका अन्तरिक पर्यटकका लागि यो मनोरञ्जनको स्थल भएको छ । धेरै मनिस घुम्ने बोटिङ गर्ने र बच्चाहरू खेल्ने ठाउँ भएको छ ।
रानीतलाउ नेपालगञ्ज बजारको बीच भागमा पर्दछ । त्यसैले पनि बजार घुम्न आएका अधिकांश मास रानीतलाउमा पुग्ने गर्दछन् । जसले गर्दा हिजोआज रानीतलाउमा पर्यटकहरूको प्रायः भीड नै देखिन्छ । रानीतलाउमा डुगा विहार शुरु भएपछि यसले आम्दानी दिन पनि थालेको छ ।