नेपालगन्ज १८ असार : प्रदेश ५ मा वार्षिक २ सय ८९ मेट्रिक टन कफी उत्पादन हुने गरेको पाईएको छ । केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षण अनुसार यस प्रदेशका ४ जिल्लामा कफीको व्यवसायिक खेती हुने गरेको सर्वेक्षणले देखाएको छ । गुल्मीका ४९.७ प्रतिशत र सबै भन्दा कम प्युठान जिल्लाका १.१ प्रतिशत किसान कफीको व्यवसायिक खेतीमा संलग्न छन् ।
नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । धेरै कृषक कफी खेतीमा संलग्न छन् । नेपालमा मुख्यतः अरेविका जातको कफी उत्पादन हुँदै आएको छ। नेपालको कफी अन्य देशहरुमा निर्यात समेत हुने गरेको छ । चालु आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा ७३ हजार ८ सय केजी कफी जापान, अमेरिका लगायत बाहिरी मुलुकहरूमा निर्यात भएको छ । त्यसबाट ८ करोड ६३ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार विभागको तथ्याङ्क छ ।
नेपालमा ३२ जिल्लामा व्यावसायिक कफी खेती हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ। विभागले गरेको ‘नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण, २०७५÷०७६’ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायिक कफी खेती मानिएको छ ।
सर्वेक्षण अनुसार प्रदेश १, ३, ५ र गण्डकीमा कफीको व्यावसायिक खेती हुँदै आएको छ। ती मध्ये प्रदेश ३ मा सबैभन्दा बढी वार्षिक ७ सय ५७ मेट्रिक टन कफी उत्पादन भएको छ । प्रदेश ३ का १० जिल्लामा व्यवसायिक रूपमा कफी खेती हुने गरेको सर्वेक्षणले देखाएको छ । ती मध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकका ३४.२ प्रतिशत र सबैभन्दा कम मकवानपुर जिल्लामा ०.५ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन् ।
गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। सो प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले देखाएको छ। सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ३७.८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०.७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै आएका छन् । प्रदेश १ मा सबैभन्दा कम वार्षिक १ सय ३ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। सर्वेक्षण अनुसार प्रदेश १ का १० जिल्लामा कफीको व्यावसायिक खेती हने गरेको छ। ती मध्ये सबै भन्दा बढी इलामका ४१.५ प्रतिशत र सबैभन्दा कम धनकुटा जिल्लाका १.८ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन्।
https://nepalgunjbusiness.com/2019/06/8261/