नेपालगन्ज १९ असोज : धम्बोझी हुँदै बागेश्वरी मन्दिर जाने बाटोमा गेट नबन्दा घरवारीटोलको व्यवसायिक कारोवार ठप्प भएको छ । सडक बिस्तार गर्दा महिनौंसम्म बन्द रहेको उक्त बजार फेरी गेटका कारण बन्द गर्नुपर्ने अवस्था आएको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टंक बहादुर धामीले बताउँनुभयो ।
‘पूर्वाधार निर्माणमा हाम्रो आपत्ती होइन । पूर्वाधार जति बन्यो उति फाईदा नै हुन्छ । तर समयमा नबन्दा यहाँको व्यवसाय चौपट भएको छ ।’ धामीले भने–‘यसको जिम्मेवारी सरोकारवाला निकायले लिनुपर्छ ।’ समयमा काम नभई व्यवसाय ठप्प हुँदा बैंकको किस्ता तिर्न पनि मुस्किल भइरहेको त्यहाँका व्यवसायीहरु बताउँछन् ।
व्यवसाय चल्ने सिजन आएका बेला झन् बजार बन्द जस्तै गर्नुपर्दा व्यवसायीलाई पर्नुपिर गरेको बाँके सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष बुद्धि दियालीले बताए । उनले भने,–‘मुख्य प्रवेशद्धार नै बन्न ढिलाई हुँदा व्यवसाय चौपट हुने अवस्था आयो ।’ घरवारीटोल नेपालगन्जको प्रमुख व्यवसायिक कारोवार हुने ठाउँमा पर्छ । अन्य ठाउँमा पूर्वाधार निर्माणको काम सकिए व्यवसाय धमाधम चलिरँहदा घरवारीटोलले भने त्यो अवसर पाएको छैन ।
घरवारीटोल भित्र छिर्ने धम्बोझीको छेउमै आर्कषक गेट निर्माण भइरहेको छ । गत बैशाख २३ गते ठेकेदार कम्पनीसंग जेठ २५ गते काम सक्ने गरी गेट निर्माणको सम्झौता भएको थियो । तर अहिलेसम्म निर्माण सम्पन्न भएको छैन ।