- निकेश खत्री
काठमाडौं । पाँच टनभन्दा बढी जडीबुटी संकलन गर्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराउनुपर्ने प्रावधानका कारण अवैध रूपमा जडीबुटी निकासी गर्न टेवा मिलेको छ । एउटा वनक्षेत्रबाट पाँच टनभन्दा बढी जडीबुटी संकलन गर्दा ईआईए गराउनुपर्ने सरकारी प्रावधान छ ।
जडीबुटी उत्पादक तथा निर्यातकर्ता भने ईआईए निकै झन्झटिलो हुने, सरकारी कर्मचारीहरूले संकलन बापत प्रतिशतमा रकम माग गर्ने तथा अवैध कमिशन लिन खोज्दा ईआईए लगायत प्रक्रियामा जान समस्या भएको बताउँछन् । नेपालका सबैजसो जिल्लाका वनक्षेत्रबाट सरकारले तोकेभन्दा बढी जडीबुटी संकलन हुने गरेको छ । यस्तो संकलन औसतमा नौ गुणाभन्दा बढी हुने जडीबुटी व्यवसायीहरू बताउँछन् ।
‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३’ लागू भएसँगै साइटिस कानूनको दफा २ मा सूचीकृत जडीबुटीहरूको संकलन र ओसारपसार प्रतिबन्ध छ । सोही सूचीमा परेको जटामसी संकलन र ओसारपसा गर्न पाइँदैन । सरकारले जडीबुटी संकलनको सीमा बढाएमा वैधमार्गबाट मुलुकको जडीबुटी निकासीमा सहयोग पुग्ने व्यवसायीहरू बताउँछन् ।
चालू आर्थिक वर्ष २०७५/७६ को ९ महीना (साउन–वैशाख)मा जाजरकोटमा ४६ टनभन्दा बढी जडीबुटी संकलन भइसकेको छ । त्यसमध्ये जम्मा पाँच टन मात्रै ईआईए गरिएको भनेर निर्यात भएको छ भने बाँकी ४१ टन अवैध तरीकाबाट भारत र चीन निकासी भएको छ । यसले गर्दा कुल उत्पादनको जम्मा पाँच टन मात्र आधिकारिक रूपमा वैधमार्गबाट निकासी भएको देखिन्छ । यो पछिल्लो उदाहरण मात्रै हो । यसरी जडीबुटी निकासी पहिलादेखि नै हुँदै आएको नेपाल हब्र्स एन्ड हर्बल उत्पादक संघमा आबद्ध एक निर्यातकर्ता बताउँछन् ।
संघको जाजरकोट जिल्ला शाखाका एक सदस्यका अनुसार नेपालबाट विदेश निर्यात हुने जडीबुटीको अधिकांश अंश प्रशोधन नभई जाने गर्छ । नेपाली जडीबुटी भारत, चीन, यूरोपेली मुलुकहरू र अमेरिकामा निर्यात हुन्छन् । नेपालगञ्जका व्यवसायीहरूका अनुसार भारत र चीन बाहेकका मुलुकमा वैध मार्गबाटै निर्यात हुने गर्छ । यस्तै, अवैध मार्गबाट निकासी हुनेमा ९० प्रतिशत भारत र १० प्रतिशत चीन पुग्ने गर्छ ।
भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै व्यवसायीले अवैध मार्गबाट निर्यात गर्दै आएका छन् । जटामसी, झ्याउ, सेतक चिनी, यार्सागुम्बा, पाँचऔंले, लौठ सल्ला, चिराइतो, शिलाजित, टिमुर, रिठ्ठालगायत नेपाली जडीबुटी वैध÷अवैध मार्गबाट निकासी हुँदै आएका छन् ।
पछिल्लो समय भारतले ‘ट्रान्जिट पर्मिट’, भन्सार, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइन परीक्षण लगायत नाममा नेपालबाट हुने जडीबुटी आयातलाई निरुत्साहित गर्दै आएको छ ।
भारतले १५० भन्दा बढी प्रकारका नेपाली जडीबुटी आयातमा क्वारेन्टाइन परीक्षण गराउनै पर्नेगरी गैरभन्सार अवरोध सृजना गरेको छ । भारतले नेपाली जडीबुटी आयातमा १८ प्रतिशतसम्म भन्सार महसुल लिने गर्छ । दूधे लहरा, रुख उन्यू, वन तरुल, सुनगाभा परिवार, लघुपत्र, सर्पगन्धा, लौठ सल्ला, कलवल, जटामसी, भोटे लहरा, क्यासर, गुन्सी, वन चाप र पाँचऔंले लगायत जडीबुटी संकलन र ओसारपसारमा नेपालले प्रतिबन्ध लगाएको छ ।
संघका अनुसार नेपालमा ६ हजार ५०० प्रजातिका फूल फुल्ने र ४ हजार ६४ प्रजातिका फूल नफुल्ने वनस्पति पाइन्छन्, त्यसमध्ये १ हजार ८०० प्रजातिका औषधि गुणका जडीबुटी पर्छन् । संसारभर पाइने सुगन्धित तथा जडीबुटी गुणले युक्त बिरूवामध्ये नेपालमा २ दशमलव ८० प्रतिशत अंश छ । आर्थिक अभियानबाट