नेपालगञ्ज २० असार : नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग/ प्रतिष्ठानमा १ हजार ४४ जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमा अधिकांस पुरुष छन् भने थोरै मात्र महिला रहेका छन् । यहाँ सञ्चालित ३४ वटा उद्योग सञ्चालनमा ९ सय ५५ जना पुरुषले रोजगारी पाएका छन भने ८९ जना मात्र महिलाले रोजगारी पाएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
२०३० सालमा २ सय ३३ रोपनीमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा ३४ वटा उद्योग चालु अवस्थामा छन् । एउटा उद्योग निर्माणको प्रक्रियामा छ भने एउटा बन्द अवस्थामा छ । औद्योगिक क्षेत्रमा मात्र नभई अधिकांस उद्योगमा महिला कामदारको संख्या न्यून छ । औद्योगिक क्षेत्रमा रहेको गणपति प्लाष्टिक उद्योगकी सञ्चालिका दिला शाहले महिला माथि सदियौंदेखि हुँदै आएको भेदभावको प्रभाव निजीक्षेत्रमा पनि परेको बताउँनुहुन्छ ।
‘महिलाले के नै गर्न सक्छन् र भन्ने सोंचकै समाजमा छ । नेपालगञ्ज औद्योगिकक्षेत्रमा मात्र होइन देशभरको निजीक्षेत्रमा यस्तै समस्या छ ।’ शाहले भनिन–‘अब बिस्तारै महिलाहरु सीपयुक्त भएर उद्योगक्षेत्रमा आइरहनुभएको छ ।’ राज्यले महिलाहरुलाई सीपयुक्त बनाउन सके निजीक्षेत्रले रोजगारी दिन कन्जुस्याई नगर्ने उहाँले बताउनुभयो ।
नेपालगञ्जमा भारतीय कामदारको बर्चस्व हुने गरेको छ । उद्योगबाट रोजगारी सिर्जना भएको संख्या धेरै देखि पनि बास्तबिकता भने फरक छ । थोरै मात्र नेपालीले रोजगारी पाउने गर्छन । प्राविधिक सीपको अभाव देखाउँदै नेपाली काम पाउँदैनन् । पूर्ण क्षमतामा सञ्चालित नेपालगञ्ज औद्योगिक क्षेत्रमा तामा पित्तल, काँस, आल्मुनियमका बिभिन्न भाडाहरु, खाद्य सामाग्री, बिद्युतीय सामाग्री, प्लाईड, ढोका, ट्रान्सफरमर, प्लाष्टिकका भाडाकुडा उत्पादन गर्ने उद्योग सञ्चालित छन् । औद्योगिक क्षेत्रभित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने भेरी प्राविधिक शिक्षालय समेत सञ्चालनमा छ ।