तीन वर्षमा झण्डै दश हजार व्यावसायिक प्रतिष्ठान सञ्चालन


बाँके २२ असार : राजनीतिक स्थिरतासंगै बाँकेमा आर्थिक गतिविधि बढेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, २०७२ सालयता मात्र जिल्लामा ९ हजार २६ वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा आए । यो कुल व्यावसायिक प्रतिष्ठानको ४८.४ प्रतिशत हो । बाँकेमा हालसम्म १८ हजार ६ सय ६६ वटा व्यावसायिक प्रतिष्ठान छन् । सबैभन्दा धेरै थोक,खुद्रा र सवारी मर्मतका रहेका छन् भने कम कला, मनोरन्जन तथा मनोविनोदन क्रियाकलापका रहेका छन् । जिल्लामा थोक, खुद्रा र सवारी मर्मत केन्द्रको संख्या ११ हजार १ सय ९२ र कला, मनोरन्जन केन्द्रको संख्या १९ रहेको छ ।

उत्पादनमूलक उद्योगको संख्या भने २ हजार २१ वटा मात्र रहेको छ । तथ्यांक विभागका अनुसार, जिल्लामा २०७२ सालयता सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान खुलेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले निजी राजनीतिक अस्थिरता भएका कारण धेरे व्यावसायिक प्रतिष्ठान खुलेको बताए । ‘देशमा राम्रो वातावरण बन्यो भने स्वभाविकरुपमा लगानी बढ्दै जान्छ । सानोदेखि ठुलासम्मका लगानीकर्ता आर्कषित हुन्छन्’– श्रेष्ठले भने ।

बाँकेमा २०४४ साल अघि ३६४, २०४५–२०५४ सम्म ५५८, २०५५–२०६४ मा २१९६ र २०६५–२०७१ मा ६२४० वटा व्यावसायिक प्रतिष्ठान सन्चालनमा आएको छन् । तथ्यांक विभागले गत वर्ष देशभर गरेको आर्थिक गणनाका आधारमा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले निजीक्षेत्रले सधै राजनीतिक स्थिरताको अपेक्षा गर्ने बताए ।

प्रकाशित मितिः     २२ असार २०७६, आईतवार १६:५७  |