‘नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगको राजश्वमा योगदान वार्षिक रु २५ करोड’


नेपालगञ्ज २३ असार : नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग/ प्रतिष्ठानले वार्षिकरुपमा सरकारलाई रु २५ करोड (करिब) राजश्व योगदान पु¥याइरहेका छन् । यहाँ बिभिन्न प्रकारका ३४ वटा उद्योग सञ्चालनमा रहेका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले सञ्चालनमा रहेका उद्योगले वार्षिकरुपमा करिब रु २५ करोड राजश्व योगदान पु¥याइरहेको जानकारी दिनुभयो । २०३० सालमा २ सय ३३ रोपनीमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा ३४ वटा उद्योग चालु अवस्थामा छन् । एउटा उद्योग निर्माणको प्रक्रियामा छ भने एउटा बन्द अवस्थामा छ ।

पूर्ण क्षमतामा सञ्चालित औद्योगिकक्षेत्रमा तामा पित्तल, काँस, आल्मुनियमका बिभिन्न भाडाहरु, खाद्य सामाग्री, बिद्युतीय सामाग्री, प्लाईड, ढोका, ट्रान्सफरमर, प्लाष्टिकका भाडाकुडा उत्पादन गर्ने उद्योग सञ्चालित छन् । औद्योगिक क्षेत्रभित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने भेरी प्राविधिक शिक्षालय समेत सञ्चालनमा छ ।

यहाँ सञ्चालित उद्योगले रु ९८ करोड लगानी गरेका छन् । त्यस्तै सरकारले पूर्वाधार निर्माणमा रु ४ करोड २५ लाख लगानी गरेको छ । यहाँ महिला ८९ र पुरुष ९ सय ५५ जनाले रोजगारी पाएका छन् । औद्योगिकक्षेत्रमा उद्योग सञ्चालन गर्ने धेरै उद्योगीको चाहाना भएपनि ठाउँ अभावका कारण अनुमति दिन नसकिएको औद्योगिकक्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले बताउनुभयो । ‘उद्योेग खोल्ने ठाउँ ने छैन । त्यसैले अनुमति दिन सकेका छैनौ ।’– पुनले भन्नुभयो ।

ठाउँ अभाव र बढ्दो शहरीकरणका कारण प्रदुषण नियन्त्रण माग गर्ने आमनागरिकहरुबाट औद्योगिकक्षेत्रले चुनौती खेप्दै आएको छ । सञ्चालन हुँदा घर नभएको भएपनि यतिबेला औद्योगिकक्षेत्रलाई शहरले ढाकेको छ । प्रमुख पुनले वातावारण परिक्षण जस्ता काम गरेर उद्योगहरुलाई प्रदुषण नियन्त्रण गर्न भनेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘प्रदुषणको मात्र परिक्षण पनि गरेका थियौं तर त्यस्तो खराव केही भेटिएन ।’

प्रकाशित मितिः     २३ असार २०७६, सोमबार १२:०२  |