‘बाँचियो भगवान’– चिप्लिएको विमानमा सवार ‘हेडसर’ को अनुभव


सबै तस्वीरहरु : पुर्ण डाँगीको फेसबुक पेजबाट ।

नेपालगञ्ज – नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ गएको यतिको एटीआर विमान अवतरणका क्रममा आज शुक्रवार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लियो विमानमा सवार यात्रुहरुमध्ये दुईजना सामान्य घाइते छन् ।

उनीहरुको काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चालकदलका सदस्यसहित अन्य यात्रु सुरक्षित छन् । ठूलो क्षति हुनबाट जोगिएको जहाजका यात्रु मध्ये एक थिए, डोल्पाको आदर्श माविका प्रअ पूर्ण डाँगी । ‘बाँचियो भगवान’ –चिप्लिएको बिमानको तस्वीर ‘पोष्ट’ गर्दै डाँगीले लेखेका छन् । एउटा कार्यक्रममा भाग लिन उनी काठमाण्डौ गएका थिए ।

नेपालगञ्ज बिजनेशसंगको कुराकानीमा उनी भन्दै थिए,–‘त्यस बेलाको घटना अहिले त सपना जस्तै लागेको छ । एकैछिनमा के भयो–भयो । भगवानले बचाए ।’ डाँगीले नेपालगञ्ज बिमानस्थलदेखि यति एयरलाईन्समा चढ्नु अघिका तस्वीरहरु शेयर गरेका छन् । त्यस लगत्तै काठमाण्डौंमा बिमान चिप्लिएपछि आत्तिएर बिमानबाट झर्दै गरेका यात्रुहरुको तस्वीर शेयर गरेका छन् ।

डाँगी भन्छन्,–‘बाँचियो र यि तस्वीर फेसबुकमा हाले ।’ डाँगीका यि तस्वीहरुमा उनका शुभेच्छुकहरुले ठुलो दुर्घटनाबाट बाँचेको भन्दै लामो आयुको कामना गरेका छन् । एकजनाले त राम्रो काम गरेकाले ‘कालको मुखबाट जोगिएको’ भन्दै शुभकामना दिएका छन् । डोल्पा जस्तो बिकट जिल्लामा शिक्षा क्षेत्र सुधार गर्न पूर्ण डाँगीको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रकाशित मितिः     २७ असार २०७६, शुक्रबार १७:२०  |