ठेलालाई नियमन गर्दै नेपालगन्ज भन्सार


नेपालगञ्ज -विक्रीका लागि ठेलामा राखेर भारतबाट नेपालगन्ज ल्याउने फलफूल र तरकारी ब्यापारीले पनि अवदेखि रोग भए–नभएको परीक्षण गराउनुपर्ने भएको छ । नेपालगन्ज भन्सार कार्यालयले प्लान्ट क्वारेन्टाइन गराएर मात्र ठेलामा भएका तरकारी र फलफूल नेपाल प्रवेश गर्न दिने नीतिलाई कडाई गरेपछि ठेलामा ब्यापार गर्नेहरुले पनि अनिवार्य रुपमा क्वारेन्टाइन गराउनु पर्ने भएको छ ।

अर्को देशबाट आयात हुने खाद्य तथा खाद्यजन्य बस्तुको क्वारेन्टाइन अनिवार्य रुपमा गराउनु पर्ने प्रावधान भए पनि नेपालगन्ज भन्सारले ठेलाका ब्यापारीलाई छुट दिँदै आएको थियो । ‘नियम त पहिले पनि थियो, तर ब्यवहारिक रुपमा ठेलाका फलफूल र तरकारी क्वारेन्टाइन नगरेरै छोड्न गरिन्थ्यो । अव चाहिँ प्रवेश इजाजत पत्र (इपी) नहुँदासम्म जान दिइने छैन,’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने ।

प्लान्ट क्वारेन्टाइनबाट निरोगिताको प्रमाणपत्र ल्याएपछि मात्र ठेलाका फलफूल र तरकारी नेपाल प्रवेश गर्न दिने नीति अवलम्वन गरिएको निरौलाले जानकारी दिए । ‘पहिले भएको नियमलाई कडाई गरिएको मात्र हो,’ उनले भने ।  खाद्य तथा खाद्यजन्य बस्तुमा भएको रोग तथा किरा एउटा देशबाट अर्को देशमा भित्रिन नपावस भन्ने उद्देश्यले प्लान्ट क्वारेन्टाइन गरिन्छ । दुवै देशमा भएका समान रोगलाई त्यति ध्यान नदिइए पनि अर्को देशमा उत्पन्न भएका नयाँ जातका किरा र रोग भए–नभएको परीक्षण गरेर मात्र खाद्य बस्तु भित्रिने अनुमति दिने गरिएको पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्जका प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत थमनबहादुर कार्कीले बताए । ‘हाम्रो देशमा नभएको रोग अर्को देशको खाद्य बस्तुमा छ या छैन भन्ने जानकारी लिन खाद्य तथा खाद्य बस्तुको परीक्षण गरिन्छ,’ उनले भने, ‘मानव स्वास्थ्यमा असर पार्ने छ, छैन भन्ने जाँच पनि सँगसँगै हुन्छ,’ उनले भने ।

भारतीय सीमा बजार रुपइडिहाबाट हरेक दिन झण्डै २०–२५ वटा ठेलामा तरकारी र फलफूल नेपालगन्ज आउने गरेका छन् । ति ठेलाका ब्यापारीले बेलुका रित्तो ठेला लिएर भारत जाने र विहान ठेलामा तरकारी र फलफूल भरेर ल्याउने गर्छन् । ‘विहान ६ बजे भन्सार खुल्छ, ठेलामा फलफूल र तरकारी विक्री गर्ने ब्यापारीहरु विहान ७ बजे भन्सारमा आइपुग्छन्,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने ।  मालबाहक ट्रकमा आयात भएका खाद्य बस्तुको मात्र परीक्षण गर्दै आएको प्लान्ट क्वारेन्टाइन कार्यालयले सरकारको नीति कार्यान्वयनका लागि भन्सार कार्यालयसँग मिलेर कडाई गरिएको बताए । ‘ठूला मालबाहक ट्रकबाट ल्याउने खाद्यबस्तु जस्तै ठेलामा ल्याउने खाद्य बस्तुबाट पनि रोग भित्रिन सक्ने भएकोले परीक्षण अनिवार्य गरिएको हो,’ क्वारेन्टाइन प्रमुख कार्कीले भने ।

प्रकाशित मितिः     २७ असार २०७६, शुक्रबार १८:०७  |