नेपालगञ्ज क्षेत्रमा देशकै सबैभन्दा धेरै ४३.५ % ले तरकारी उत्पादन बृद्धि


कमल डाँगी

बाँके / नेपालगञ्ज क्षेत्रमा ४३.५ प्रतिशतले तरकारी उत्पादन बृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनासम्मको आर्थिक गतिविधि समेटेर एउटा प्रतिवेदन सार्वजनिक गरेको
थियो । जसमा देशभर तरकारीको उत्पादन ७.८ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

गत वर्षको सोही अवधिमा तरकारी उत्पादन ९.९ प्रतिशतले बढेको थियो । जनकपुर र धनगढी क्षेत्रमा तरकारीको उत्पादन घटेको छ भने बाँकी क्षेत्रमा वृद्धि भएको छ । राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले हेर्ने प्रदेश नंं. ५ को बाँके, बर्दिया, दाङ्ग र कर्णाली प्रदेशको सुर्खेत, सल्यान र जुम्लामा सबैभन्दा बढी ४३.५ प्रतिशतले तरकारीको उत्पादन वृद्धि भएको हो । तरकारी उत्पादनको बृद्धिदर देशकै सबैभन्दा धेरै हो । यस क्षेत्रमा चालु आर्थिक वर्षमा देशकै सबैभन्दा धेरै तरकारी उत्पादन बृद्धि भएपनि समग्रमा भने यहाँ तरकारी उत्पादनको योगदान अन्यत्र भन्दा कम रहेको छ ।

मौसमी अनुकुलता, कृषि कर्जा तथा ब्याज अनुदान सम्बन्धी ब्यवस्था, रासायनिक मल र उन्नत बीउ– बिजनको उपलब्धता एवम् कृषक समूहले आधुनिक कृषि यन्त्रको उपयोग बढाउनुले कृषि बाली उत्पादन बृद्धि भएको अध्ययनको निष्कर्ष छ । त्यस्तै साना तथा मझौला सिँचाइ आयोजनाको निर्माण सम्पन्न हुँदै जानु एवम्विभिन्न जिल्लामा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सकारात्मक प्रभाव लगायतका कारण समग्र कृषि उत्पादनमा वृद्धि हुन गएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालगञ्ज क्षेत्रमा पनि बाँकेमा सबैभन्दा धेरै तरकारी उत्पादन हुने गरेको छ । यहाँ ७४ प्रतिशतले तरकारी उत्पादन बृद्धि भएको देखिन्छ । २०७५ असारससम्म बाँकेमा ६५ हजार ८ सय मेट्रिक टन तरकारी उत्पादन भएकोमा पुस मसान्तसम्म ९९ हजार मेट्रिक टन तरकारी उत्पादन भएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कृषि कर्जा २१.१ प्रतिशतलेवृद्धि भई रु. १ खर्ब ३६ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तोकर्जा ९.६ प्रतिशतलेवृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी रु. ५१ अर्ब ३ करोड १७ लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवाहरु शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा न्यून सूर्ति बालीमा रु. ९ करोड ८० लाख प्रवाह भएको देखिन्छ ।

कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ५.० प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये काठमाडांैक्षेत्रको अंश २०.७ प्रतिशत, विराटनगर क्षेत्रको १७.३ प्रतिशत, जनकपुर क्षेत्रको ६.४ प्रतिशत, वीरगञ्ज क्षेत्रको २२.५ प्रतिशत, पोखरा क्षेत्रको ७.२ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको १५.४ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ६.६ प्रतिशत तथा धनगढी क्षेत्रको अंश ३.९ प्रतिशत रहेको छ ।

प्रकाशित मितिः     २८ असार २०७६, शनिबार १८:४९  |