कमल डाँगी
नेपालगञ्ज / बाँकेमा बैंक तथा वित्तीय क्षेत्रले चालु आर्थिक वर्षको पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा मात्र रु १७ अर्ब १८ करोड ३० लाख कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि सम्बन्धि अर्धवार्षिक प्रतिवेदन अनुसार, बिगतका वर्ष भन्दा झण्डै १४ प्रतिशत बढि कर्जा प्रवाह भएको छ ।
सबैभन्दा बढि उत्पादनमूलक र सबैभन्दा कम खानी उद्योगमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्तसम्म औद्योगिक क्षेत्रमा रु १५ अर्ब १९ करोड २० कर्जा प्रवाह गरेका बैंक तथा वित्तिय क्षेत्रले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु १७ अर्व १८ करोड ३० लाख कर्जा लगानी गरेको पाईएको छ । पूर्ण प्रतिवेदन आउन बाँकी रहेकाले पुसयताको विवरण समेत समेट्दा यहाँ भएको कर्जा प्रवाहको दर ह्वात्तै बढ्ने छ ।
बाँकेमा खानी सम्बन्धी उद्योगमा रु ७ करोड २० लाख, कृषि तथा वन जस्ता उत्पादनमूलक उद्योगमा रु ८ अर्ब २७ करोड, निर्माणमा रु ५ अर्ब ७० करोड, विद्युतदेखि पानी उद्योगमा रु ४३ करोड २० लाख, धातुका उत्पादनमा रु ८९ करोड ९० लाख र पर्यटन उद्योगका क्षेत्रमा रु १ अर्ब ८० करोड रहेको छ । पश्चिम नेपालको आर्थिक नगरीका रुपमा रहेको बाँकेमा ठुला उद्योगहरु खुल्ने क्रम बढेको छ । सिमेन्ट, छड जस्ता उद्योगको संख्या बढेकाले कर्जा प्रवाह पनि थपिदै गएको हो ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभाग,आर्थिक विकास शाखा र नेपालगन्ज लगायत देशभरका क्षेत्रगत कार्यालयले बिस्तृत अध्ययन गरी प्रतिबेदन तयार पारेको हो । कुल औद्योगिक कर्जामध्ये काठमाडांै क्षेत्रको अंश ५८.३ प्रतिशत, विराटनगर क्षेत्रको अंश ११.४ प्रतिशत, जनकपुर क्षेत्रको अंश १.८ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १०.६ प्रतिशत, पोखरा क्षेत्रको अंश ५.७ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ७.३ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३.१ प्रतिशत र धनगढी क्षेत्रको अंश १.८ प्रतिशत रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडांैंमा रहेको र ठूलो परिमाणको कर्जा स्वीकृतिको अधिकार केन्द्रीय कार्यालयमा रहने भएकाले काठमाडांै क्षेत्रको औद्योगिक कर्जा प्रवाहको अंश उच्च देखिएको हो ।