नेपालगञ्ज : नेपालगञ्ज नर्सिङ्गहोम अगाडीका ठेला भेरी प्राविधिक शिक्षालय (बिटिएस) मा सरेका छन् । अहिले सरेको सडक किनारलाई ‘स्ट्रिट मार्केट’रुपमा बिस्तार गर्ने गरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले प्रक्रिया सुरु गरेको छ । वडा कार्यपालिकाको बैठकले नहर ढलान गर्दा बचेको सडक किनारमा दिन र रातीसम्म चल्ने गरी स्ट्रिट मार्केट बनाउने निर्णय गरिसकेको थियो ।
एशियाली विकास बैंकको सहयोगमा सडक बिस्तार गर्ने क्रममा भेरी प्राविधिक शिक्षालय हुँदै बग्ने नहर ढलान गरेर फुटपाथ बनाइएको थियो । १० मिटरसम्म फराकिलो रहेको उक्त सडकमा नर्सिङ्गहोम र बिपीचोक आसपास अव्यवस्थितरुपमा रहेका ठेलालाई ल्याएर राखिने पूर्व निर्णय कार्यान्वयन भएको अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । अहिले मुख्य सडक र फुटपाथ च्यापेर ठेला लगाउँदा समेत नेपालगन्ज उपमहानगरपालिका र प्रहरी,प्रशासनले समेत बैकिल्पक व्यवस्था नभएपछि केही गर्न सकेको थिएन । पटक –पटक हटाउन खोजेपनि नसकेपछि बिटिएस जाने सडक किनारलाई बिकल्पका रुपमा हेरिएको थियो ।
‘बिटिएसदेखि कोरियनपुर जानका लागि फराकिलो सडक र फुटपाथ दुबै छ । त्यसबाहेक नाली ढलान गर्दा बचेको ठाउँमा ठेला व्यवस्थापन गर्न लागेका हौं ।’ अध्यक्ष सुवेदीले भने–‘यसो गर्दा सुर्खेतरोडमा अव्यवस्थित तरिकाले राखिएका ठेलाको व्यवस्थापन पनि हुन्छ र स्ट्रिट मार्केटको जुन मौलिक पहिचान छ नेपालगन्जको त्यसलाई पनि राम्रो हुन्छ ।’
भेरी प्राविधिक शिक्षालय जाने बाटो किनारमा नाली ढलान गरेर बनाएको अर्को बाटो, जहाँ स्ट्रिट मार्केटका रुपमा ठेलाको व्यवस्थापन गर्ने योजना बनेको छ । पेट्रोल पम्पदेखि बिटिएसचोकसम्म करिव सय ठेला लगाउन मिल्ने देखिन्छ । उक्त ठाउँमा तरकारी, खाजा,नास्ता, आईसक्रिम, चाट, माछाका परिकार जति नेपालगन्जमा पाईन्छ त्यसको व्यवस्थापन गरिने वडा सदस्य तरुण बज्राचार्यले बताए । ‘स्ट्रिट फुड नेपालगन्जको मौलिक पहिचान हो । यसलाई हटाउने होइन व्यवस्थापन गर्दै लैजानुपर्छ भनेर नयाँ काम गर्न खोजेका हौं ।’ बज्राचार्यले भने–‘ठेला राख्ने मात्र होइन त्यहाँ अन्य पूर्वाधारको काम पनि गर्ने बिचार गरेका छौं ।’
बज्राचार्यका अनुसार उक्त जहाँ स्ट्रिट मार्केट बनाउने योजना छ त्यहाँ बस्नका लागि सुविधा सम्पन्न बिसौनी बनाइने छ । त्यस्तै साँझसम्म पनि चहलपहल होस् भन्नका लागि राम्रो प्रकाश दिने लाईटको व्यवस्थापन गरिने छ । रुख रोप्ने तयारी पनि भइरहेको बज्राचार्यले बताए । उनले भने,–‘यदि हामीले भने अनुसारको योजना कार्यान्वयन भयो भने उक्त ठाउँ नेपालगन्जकै राम्रो स्ट्रिट मार्केट बन्ने छ ।’
सरसफाईका लागि ठेला व्यवसायीहरुकै उपभोक्ता समिति बनाउने र त्यसैबाट काम गरिने योजना बनाईएको छ । नयाँ ठाउँमा सरेकाले तत्काल ठेला व्यापारीलाई नोक्सान भएपनि दिर्घकालिनरुपमा फाईदा हुनेछ । अब कुनै पनि निकायले त्यहाँका ठुला हटाउन पाउने छैनन् ।