‘बिटिएस’रोड सरेका ठेला व्यवसायी भन्छन्,–‘दुई दिनमा किन्ने कोही आएनन्’


नेपालगञ्ज – नेपालगञ्ज नर्सिङ्गहोम अगाडी लामो समयदेखि सञ्चालनमा रहेका दुई दर्जन ठेला सोमवारदेखि भेरी प्राविधिक शिक्षालय (बिटिएस) मा सरे । सडक किनारमा प्रशस्त जग्गा भएकाले उक्त ठाउँलाई ‘स्ट्रिट मार्केट’रुपमा बिस्तार गर्ने गरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले प्रक्रिया सुरु गरेको छ ।

वडा कार्यपालिकाको बैठकले नहर ढलान गर्दा बचेको सडक किनारमा दिन र रातीसम्म चल्ने गरी स्ट्रिट मार्केट बनाउने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन भएपछि जम्मै ठेला बिटिएसरोडमा सरेका छन् । नर्सिङ्गहोम अगाडीको फुटपाथ र सडक खुल्ला देखिएको छ । उपमहानगरपालिका र ट्राफिक प्रहरीलाई दैनिक सडक अतिक्रमण हटाउन गर्नुपर्ने किचकिच अन्त्य भयो । तर बिटिएसरोडमा सरेका ठेलाको दुई दिनसम्मको व्यापार भने ‘सुख्खा’ भयो ।

ठेला व्यापार गरेर गुजारा गर्ने पनि छन् । व्यापार चलेपछि उनीहरुलाई निरासा छाएको छ । नयाँ –नयाँ ठाउँ भएका कारण त्यहाँ अहिले दिनमा कुनै पनि सेवाग्राही पुगेका छैनन् । व्यवसायीहरु माखा थपाए गफिएका भेटिन्छन् । एकजना भन्दै थिए,–‘बिहानदेखि ब्यापार छैन । चौपट भयो ।’ ठेला सारेकोमा व्यवसायीको आपत्ती छैन । ‘त्यहाँ संधै अनावश्यक किचकिच हुन्थ्यो यहाँ व्यवस्थापन गर्न खोज्नु राम्रै हो ।’ ठेला व्यवसायी भन्छन्–‘तर हाम्रो रोजीरोटी नै गुम्ने गरी व्यापार नै चलेन भने के काम भयो र ?’

नेपालगञ्ज उपमहानगरपालिकाले सेवाग्राहीलाई थाहा नहुने भएकाले सुरु–सुरुमा ब्यापार नचलेको हुनसक्ने भएकाले केही दिन पर्खिन आग्रह गरेको छ । एशियाली विकास बैंकको सहयोगमा सडक बिस्तार गर्ने क्रममा भेरी प्राविधिक शिक्षालय हुँदै बग्ने नहर ढलान गरेर फुटपाथ बनाइएको थियो । १० मिटरसम्म फराकिलो रहेको उक्त सडकमा नर्सिङ्गहोम र बिपीचोक आसपास अव्यवस्थितरुपमा रहेका ठेलालाई ल्याएर राखिने पूर्व निर्णय कार्यान्वयन भएको अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । अहिले मुख्य सडक र फुटपाथ च्यापेर ठेला लगाउँदा समेत नेपालगन्ज उपमहानगरपालिका र प्रहरी,प्रशासनले समेत बैकिल्पक व्यवस्था नभएपछि केही गर्न सकेको थिएन । पटक –पटक हटाउन खोजेपनि नसकेपछि बिटिएस जाने सडक किनारलाई बिकल्पका रुपमा हेरिएको थियो ।

https://nepalgunjbusiness.com/2019/07/8998/

https://nepalgunjbusiness.com/2019/06/7236/

प्रकाशित मितिः     ३१ असार २०७६, मंगलवार १४:५८  |