‘डिप बोरिङ्ग’ बाट फेरी छल्कियो पानी, सिंचाईका लागि यस्तो छ मेयर राणाको योजना


 

  • कमल डाँगी

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले बन्द अवस्थामा रहेका ‘डिप बोरिङ्ग’ सञ्चालनमा ल्याएसंगै सिंचाईको असुविधाका कारण कृषिजन्य उत्पादन बढाउन नसकेका कृषक हर्षित भएका छन् । हाल वडा नं. २२ र २४ का दुईवटा डिप बोरिङ्ग सञ्चालन ल्याउन सफल भएको मेयर डा. धवल शमसेर राणाले जानकारी दिनुभयो । ‘लामो समयदेखि काम नलाग्ने अवस्थामा रहेका डिप बोरिङ्गबाट फेरी पानी तान्न सफल भएका छौं’– मेयर राणाले भन्नुभयो–‘यसले नेपालगञ्जमा पर्याप्त सिंचाईको सुविधा दिएर कृषिमा आत्मनिर्भर गराउने हाम्रो योजनालाई सार्थक बनाउन निकै मद्दत गर्छ ।’

कृषि क्षेत्रका बारेमा स्वंय जानकार मेयर राणाले पर्याप्त सिंचाईको सुविधामा जोड दिदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ,–‘सबैथोक छ तर सिंचाई नै छैन भने के काम ? हामी कहाँ सिंचाईका लागि यति ठुला लगानीका डिप बोरिङ्ग त्यसै खेर गएको छ । मैले त्यसलाई टुलुटुलु हेरेर बस्न सकेन ।’ एकातिर ठुला लगानीका डिप बोरिङ्ग बन्द रहेका र अर्कोतिर कृषकका खेत बाँझो भएको देखेपछि मेयर राणाले नयाँ कामको सुरुवात गर्नुभएको हो । दुईवटा बाटै भए पनि सुरुवात भने भएको छ ।

एउटै डिप बोरिङ्गलाई मर्मत गरी पुन सञ्चालन गर्न धेरै रकम आवश्यक पर्ने भएकाले चालु आर्थिक वर्षमा दुई वटामात्र सञ्चालन गर्न सकिएको छ । ती दुई वटा डिप बोरिङ्ग सञ्चालन गर्न २० लाख खर्च लागेको  छ । ट्रान्सफरमरदेखि धैरै सामाग्री नयाँ लगाइएको छ । एउटा डिप बोरिङ्गको पानीले ४० हेक्टरसम्म सिंचाई गर्न सक्छ । त्यसैले अन्य धेरै डिप बोरिङ्ग सञ्चालनमा ल्याउन सके ‘नेपालगञ्जलाई हरित शहर’ बनाउन सकिने मेयर राणाको बिश्वास छ । द्धन्द्धकालमा नेपालगञ्ज क्षेत्रभर रहेका ३८ वटा डिप बोरिङ्गका ट्रान्सफरमर चोरी भएपछि बन्द भएका थिए । त्यसपछि यहाँका कृषक खेती, किसानीका लागि आँकाशे पानीकै भर पर्दै आएका छन् ।

‘हामीसंग उर्वर भूमी छ । पूर्वाधारको समस्या छैन । समस्या छ त सिंचाईको । त्यो व्यवस्था हुने बित्तिकै नेपालगञ्जमा हरित क्रान्ति नै हुन्छ । उपमहानगरभित्रै वर्षैभरी तरकारी उत्पादन गर्न सक्छौ । ’ मेयर राणाले भन्नुभयो–‘त्यसैका लागि पर्याप्त मात्रामा सिंचाईको व्यवस्था होस् भनेर लागिपरेका छौं ।’ मेयर राणाले अन्य डिप बोरिङ्ग सञ्चालनका लागि प्रदेश नं. ५ सरकारसंग सहकार्य गर्ने संकेत गरेका छन् ।

उहाँले नेपालगञ्जमा बिश्वविद्यालय बनाउनुपर्ने माग गर्दै दवाव दिन अस्थायी राजधानी बुटवल जाने क्रममा डिप बोरिङ्गको बिषय पनि उठान गर्नुहुने भएको छ । उपमहानगरले डिप बोरिङ्ग सञ्चालनसंगै कृषकलाई प्रोत्साहन गर्ने नीति समेत बनाएको छ । बिउँ, बिजनदेखि मेशनरी सामाग्रीको सहायताका लागि सहयोग गर्दै आएको छ ।

प्रकाशित मितिः     ३१ असार २०७६, मंगलवार २१:४९  |