नेपालगञ्ज : मालपोत कार्यालय, बाँकेमा सेवाग्राहीले बुझाउने राजश्व आज बुधवारबाट नेपाल बैंकको सिटी अफिसमा दाखिला गर्न शुरु गरिएको छ । बैंकले आयोजना गरेको एक कार्यक्रका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंकका प्रदेश ५ का प्रमुख पासाङ्ग दोर्जे शेर्पा , प्रमुख मालपोत अधिकृत प्रेम दौल्याल लगायतले संयूक्तरुपमा उक्त सेवाको उद्घाटन गरे ।
दामोदर सुनार र बिष्णु कार्की मालपोतको राजश्व नेपाल बैंक सिटि अफिसमा जम्मा गर्ने पहिलो सेवाग्राही बने । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भुजेलले बैंकमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेका थिए । बैंकमा राजश्व दाखिला गरेको भौचर मालपोतमा देखाएपछि अब अन्य काम अगाडी बढ्ने छ । हालसम्म सेवाग्राहीले मालपोत कार्यालयमै रकम दाखिला गर्दै आएका थिए । त्यसो गर्दा सेवाग्राहीहरु लामो समयसम्म पालो पर्खिन बाध्य थिए भने साँझ जम्मा भएको रकम कर्मचारीलाई बैंकसम्म लैजान मुस्किल हुन्थ्यो ।
तर अब त्यस्तो समसस्याको समाधान हुने अपेक्षा गरिएको मालपोत अधिकृत दौल्यालले बताए । उनले भने,–‘बैंकमा आएपछि सेवाग्राहीले छिटोछरितो तरिकाले सेवा पाएको महसुस गर्ने बिश्वास छ ।’ मालपोत कार्यालयसंगै बैंक जोडिएकाले सेवाग्राहीलाई मुस्किल नहुने अपेक्षा गरिएको दौल्यालले जानकारी दिएका छन् । नेपाल बैंक सिटि अफिसका प्रबन्धक जनक प्रसाद सुवेदीले महत्वपूर्ण जिम्मेवारी बैंकलाई आएको बताउँदै त्यसलाई सफलतापूर्वक कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने,–‘सेवाग्राहीलाई कुनै मर्का नपार्ने गरी सहजरुपमा काम गर्छौ । यदि कुनै समस्या भए हामीलाई भन्नुहोला ।’
कार्यक्रममा सहभागि हुन बुटवलबाट आएका नेपाल बैंकका प्रदेश प्रमुख शेर्पाले आफ्नो बैंक नयाँ तरिकाले अगाडी बढिरहेको र आमगानरिकको बिश्वसा जितिरहेको बताए । ‘हाम्रो बैंकको इतिहास लामो छ । अब हामी त्यो इतिहासमा इट थप्ने काम गर्दैछौ । सेवा, सुविधा चुस्तदुरुस्त बनाउँदै लगेका छौं ।’– शेर्पाले भने । उनले मातहतका कार्यालयलाई सेवाग्राहीलाई कुनै कुरामा कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेल, राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेल, जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओली, महालेखा परिक्षक कार्यालयका जिल्लास्थित प्रमुख, उद्योगी, व्यवसायी, शिक्षा तथा चिकित्साक्षेत्रका अगुवाहरुले मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन दिपक ओलीले गरेका थिए ।