बिश्वविद्यालयका लागि तात्तियो नेपालगञ्ज : ‘डेलिगेशन’ टोलीले भेट्यो मुख्यमन्त्री, छलफलमा के भयो ?


नेपालगञ्ज १ साउन : प्रादेशिक बिश्वविद्यालय माग गर्दै नेपालगञ्जको सर्वपक्षीय ‘डेलिगेशन’ टोलीले आज बुधवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बुटवलमा भेटघाट गरेको छ । नेपालगञ्जमा बिश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता र औचित्यका बारेमा पहिलो पटक औपचारिकरुपमा मुख्यमन्त्री पोखरेलको ध्यानार्कषण गराएको डेलिगेशन टोलीका नेतृत्वकर्ता नेपालगञ्जका मेयर डा. धवल शमसेर राणाले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश बिश्वविद्यालय स्थापना गर्न अध्ययन लगायतका काम शुरु गरेका बेला नेपालगञ्जले सशक्तरुपमा विश्वविद्यालयको दावी गरेको हो । बिश्वविद्यालयको मुद्दा नेपालगञ्जमा शसक्त बन्ने देखिएको छ । यहाँ दश वर्ष अघि नेपालगञ्ज विश्वविद्यालय स्थापनाका लागि चरणबद्ध आन्दोलन भएका थिए । सोही क्रममा सरकारले बिभिन्न विकास क्षेत्रमा बिश्वविद्यालय स्थापना गरे पनि नेपालगञ्ज विश्वबिद्यालयको बिधेयक भने संसदमै अलपत्र पारिएको उक्त आन्दोलनको नेतृत्व गरेका पशुपति दयाल मिश्रले बताए ।

उक्त विधेयक अलपत्र अवस्थामै रहेका प्रदेश सरकारले विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएपछि नेपालगञ्जमा विश्वविद्यालयको आशा पलाएको मेयर राणाले बताए । ‘हालको प्रदेश संरचनामा हामी निकै ठगिएका छौं । एक पछि अर्को गरी यहाँका अनेकौ सेवा, सुविधा खोस्ने काम भइरहेका बेला प्रदेश विश्वविद्यालय त बनाउँछन् की भनेर लागेका छौं ।’ मेयर राणाले –‘नेपालगञ्जमा विश्वविद्यालय बन्नका लागि कसरी योग्य र किन आवश्यक छ भन्ने कुरा स्पष्टरुपमा मुख्यमन्त्री ज्यूसंग राख्यौ ।’

मेयर राणाले विश्वविद्यालय लगायत नगरको विकासका मुद्दामा समेत आफ्ना कुरा राखेका थिए । छाडाचौपाय नियन्त्रण, डिप बोरिङ्ग सञ्चालन लगायतका मुद्दा उठेका थिए । त्यस्तै बजेट गाउँपालिका भन्दा पनि कम आएको विषयमा पनि मुख्यमन्त्रीको ध्यानार्कषण गराएको मेय राणाले बताए । मुख्यमन्त्री पोखरेलले डेलिगेशन टोलीलाई नेपालगञ्जलाई प्राथमिकतामा राखेको बताउँदै कसैले पछि पार्न नसक्ने बताए । भेटघाटमा अन्य विषयमा पनि कुराकानी भएपनि मुख्य विषय भने विश्वविद्यालयमै केन्द्रीत थियो । मेयर राणाले नेपालगञ्ज प्रदेश र केन्द्र सरकारबाट ठगिएको बताउँदै यस्तै अवस्था रहे कर्णाली प्रदेशमा जान अनुमति दिन समेत मुख्यमन्त्री पोखरेलसंगको भेटमा भनेको जानकारी दिए ।

डेलिगेशन टोलीमा सहभागि नेपालगञ्ज विश्वविद्यालय आन्दोलनको नेतृत्व गरेका पशुपति दयाल मिश्रले मुख्यमन्त्री पोखरेलले ‘प्रादेशिक बिश्वबिद्यालय कहाँ बनाउने भन्ने बिषय छलफलमै चरणमा रहेको’ प्रतिक्रिया दिए । बैठकमा मुख्यमन्त्रीले राखेको कुरा बारेमा जानकारी दिदै मिश्रले भने,–‘मुख्यमन्त्री ज्यूले करिव सय बिगाह जग्गा जोहो गर्नुहोस् त्यसपछि आवश्यक काम गरौंला भन्नुभयो । उहाँ नकारात्मक हुनुहुन्न ।’ मिश्रले पूर्वाधारको व्यवस्थापन गर्न अब लाग्नुपर्ने बताए ।

प्रकाशित मितिः     १ श्रावण २०७६, बुधबार १८:०५  |