नेपालगञ्ज – होटल स्नेहा क्लार्कस ईन नेपालगञ्जले आन्तरिक र भारतको लखनउ, कानपुर र वनारस जस्ता ठुला शहरमा बजार प्रर्बद्धन गर्न शुरु गरेको छ । ‘डिस्टिनेशन वेडिङ्ग सेरेमोनी’, बर्दियामा जङ्गल सफारी, गोल्डेन ‘ट्रयाङ्गल’, इभेन्टमा आधारित बिशेष प्याकेज बनाएको उक्त होटलले विभिन्न एजेन्सी मार्फत नेपालगञ्जसंग सीमा जोडिएको उत्तर प्रदेशका ठुला शहरमा ‘मार्केटिङ्ग’ गरिरहेकोे हो ।
भारतमा मुख्यालय रहेको क्लार्कस होटल ग्रुपसंग व्यवसायीक साझेदारी गरेसंगै स्नेहाको व्यवस्थापन फेरिएको छ । सेवा, सुविधा ‘अपग्रेड’ गरेको नयाँ व्यवस्थापनले आन्तरिक र भारतमा बजार खोजिरहेको छ । सोही क्रममा उक्त होटलले लखनउ, कानपुर र बनारस लक्षित ‘प्याकेज’ बनाएको हो । ‘यि शहर हाम्रा लागि निकै महत्वपूर्ण छन् । त्यहाँबाट सेवाग्राहीको फ्लो गराउन सक्यौ भने यहाँका होटलले राम्रो बिजनेश पाउने सम्भावना रहन्छ भन्ने देखेर बिशेष प्याकेज बनाएका छौं ।’ होटलका आवासीय व्यवस्थापक तोरवन घोषले भने,–‘ बिभिन्न सम्पर्क सुत्र मार्फत प्याकेजका बारेमा जानकारी गराउने काम भइरहेको छ ।’
लखनउमा क्लार्कसको आफ्नै सञ्जाल रहेका कारण ‘मार्केटिङ्ग’ मा कुनै समस्या नरहेको घोषले बताए ‘यस बाहेक अन्य सम्पर्क सुत्रको पनि प्रयोग गरेका छौं ।’–उनले भने । बिशेष प्याकेज भित्र पर्ने वेडिङ्ग सेरोमोनी अन्र्तगत विवाह पार्टी नेपालगञ्जमा गराउने रहेको छ । लखनउ लगायतका शहरमा दुलाह र दुलहीका सबै जना अन्यत्र गएर बैवाहिक कार्यक्रम गर्ने प्रचलन बढेकाले त्यस्ता कार्यक्रम यहाँ आयोजना गर्न सकिने बिश्वास सहित यस्तो प्याकेज ल्याइएको हो । त्यस्तै गोल्डेन ट्रयाङ्गल प्याकेज अन्र्तगत सेवाग्राहीलाई नेपालगञ्ज, पोखरा र काठमाण्डौं घुमाइन्छ । ‘जङ्गल सफारीदेखि गोल्डेन ट्रयाङ्गल प्याकेजमा निश्चित समयका लागि तोकिएको शुल्क लिएर आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाईन्छ’– घोषले भने । इभेन्टमा आधारित प्याकेजमा नेपाल र भारतका कलाकार सहित हरेक शनिवार बिशेष कार्यक्रम आयोजना भइरहेको उनले जानकारी दिए ।
बिशेष प्याकेज बनाएर प्रचार, प्रसार गरिरहेको नयाँ व्यवस्थापनले होटलको आन्तरिक सेवा, सुविधामा अपग्रेड गरेको छ । ‘त्यसै पनि होटल स्नेहा चर्चित छ । यसमा हामीले खासै थप्न परेन । तर सर्भिस, मेन्युमा नयाँपन दिएका छौं ।’ –घोषले भने । स्नेहमा भारतीय पर्यटकको ‘फ्लो’ अन्य समय भन्दा बढेको घोषको दावी गरे । बर्दियाका सफारीका लागि टिम बनाएर पर्यटक आएर गइसकेको र बनारसको चिकित्सक टोलीले ‘सेमिनार’ गरेको जानकारी दिदै घोषले भने,–‘यि प्रतिनिधिमूलक कुरा मात्र भए तर समग्रमा स्थानीय र भारतका सेवाग्राहीको फ्लो बढेको छ ।’ घोषणले भारतमा मात्र नभई नेपालगञ्जलाई समेत लक्षित गरी बिभिन्न प्योकज बनाएको जानकारी दिए । हरेक शुक्रवार र शनिवार एभेन्टमा आधारित प्याकेजदेखि राष्ट्रिय महत्व राख्ने चाडपर्व लक्षित कार्यक्रम समेत गरिरहेको बताउँदै उनले भने,–‘यहाँको विविधतालाई एकै ठाउँमा प्रदर्शन गर्ने गरी कार्यक्रम शुरु गर्दै छौ । जस्तै आउने तीजमा बिशेष कार्यक्रमको आयोजना गर्छौै ।’